
काठमाडौं : इरानी सुरक्षाफौजको नियन्त्रणमा रहेका अमृत झाले आफ्नो रिहाइका लागि कानुनी परामर्श गरेका छन् । त्यसका लागि उनले एक इरानी वकिलसँग परामर्श गरेको बिबिसी नेपाली सेवाले उल्लेख गरेको छ ।
इन्धन ढुवानी गर्ने पानी जहाजमा कार्यरत उदयपुरका ३३ वर्षीय झा दुई साताअघि इरानी सुरक्षाफौजको नियन्त्रणमा रहेको सार्वजनिक भएको थियो । झा युएईमा मुख्यालय रहेको ब्ल्याक सी मरिन एलएलसी नामक कम्पनीको स्वामित्वमा रहेको पानीजहाजको चालक दलका सदस्य थिए ।
झालाई इरानको रेभलुसनरी गार्ड कोरले ‘स्ट्रेट अफ होर्मुज’ नजिकैबाट नियन्त्रणमा लिएको थियो । झासँगै अन्य ६ जना भारतीय नागरिहरू पनि पक्राउ परेका थिए । उनीहरू सबैविरुद्ध इरानी अदालतमा मुद्दा चलिरहेको बताइएको छ । झाको अन्य अवस्था भने सामान्य रहेको खबर आएको उदयपुरको त्रियुगा नगरपालिकामा रहेका परिवारले बताएका छन् ।