कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : सत्तारुढ दल जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । गत २०७६ साल बैशाखमा एक भएको जसपा पुन फुटको दिशामा जाने निश्चित भएको हो । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले सहमतिमै आ–आफ्नो तरिकाले अघि बढ्न तयार भएपछि जसपा फुट्ने निश्चित भएको हो । अध्यक्षद्वयले बुधबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेर एक ठाउँमा बसेर जान नसकिने निर्णय गरेका थिए ।
‘उहाँहरू सौहार्दपूर्ण वातावरणमा छुट्टिन तयार हुनुभयो भन्ने सुनेको हो । अरू कुरा थाहा छैन,’ जसपाका सांसद अमृता अग्रहरीले बताइन् । दुई अध्यक्षहरु सहमतिमै विभाजित हुन लागेको उनको भनाई छ । वैकल्पिक शक्ति बन्ने ध्येयका साथ पार्टी एकता भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले सहमतिमा विभाजित हुनुपर्ने पार्टीको नाम र चुनाव चिन्ह भने उपेन्द्र पक्षसँगै हुने भएको छ । भट्टराई पक्षधरको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने देखिएको हो ।
जसपाको ३४ सदस्यीय कार्यकारिणी समितिमा बाबुरामको पक्षमा बहुमत पुग्ने सम्भावना देखिदैँन । यद्यपि, महिन्द्र राय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, अमृता अग्रहरी, रामनरेश राय यादव, हिसिला यमी, हेमराज राई, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह, दुर्गा सोब, भक्तबहादुर साह बाबुरामतिर जाने जसपाका केही नेताको विश्लेषण छ । तर, बाबुरामको पक्षमा रहेका नवलकिशोर साह, गजाधर रोहिता यादव र मोहम्मद इस्तियाक राईले उनको साथ पहिला नै छोडिसकेका छन् ।
‘सायद छिट्टै केन्द्रीय सदस्यहरुको भेला बोलाइन्छ होला । नेताहरु छलफल गर्दै हुनुहुन्छ’ भट्टराई निकटका एक केन्द्रीय सदस्यले भने । पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भन्दै जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो।
तत्पश्चात् पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न बावुरामले माग गरेका थिए । तर, त्यसमा यादव सहमत नभएपछि भट्टराई विभाजनकै पक्षमा उभिएका हुन् । गत २०७६ वैशाखमा यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएर संघीय समाजवादी पार्टी गठन भएको थियो । पुन त्यसपछि संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा गठन भएको थियो ।
‘बाबुरामजीले सौहर्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहनु भएको छ, यो कुरा उहाँले उपेन्द्र यादवजीसँग पनि राखि सक्नु भएको छ’, उनले भने, ‘उपेन्द्र यादवले पनि हुन्छ भनिसक्नु भएको छ, सायद बाबुरामजी त्यसको तयारीमा लाग्नु भएको छ जसपाका कार्यकारिणी सदस्य गज्जाधर यादवले जानकारी दिए ।’ नेताहरु सौहार्दपूर्ण वातावरणमै जसपाबाट अलग हुने उनको भनाई छ ।
तर, गत भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि यादव र भट्टराईले पार्टी सञ्चालन गर्दै आईरहेका थिए । तर, उनीहरुबीच पनि खटपट बढ्दैँ जाँदा जसपा पनि विभाजन हुने स्थिती देखापरेको हो । जसपामा अहिले २१ जना प्रतिनिधि सभा सदस्य रहेका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies