२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

विदेश जाने कामदारले एयरपोर्टमा म्यानपावर र हवाई टिकटको बिल देखाउनुपर्ने

Nada
२०८२ चैत २४ गते ०६:१०
Shares
विदेश जाने कामदारले एयरपोर्टमा म्यानपावर र हवाई टिकटको बिल देखाउनुपर्ने

काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारहरूले म्यानपावर कम्पनीलाई तिरेको रकम र हवाई टिकटको बिल अध्यागमन प्रक्रियामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य देखाउनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै आगामी २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट, उक्त टिकटको बिल र रसिद अनिवार्य साथमा राख्नुपर्ने बताएको छ ।

ncell

विभागले म्यानपावर कम्पनीमार्फत जाने कामदारले म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद अनिवार्य साथमा राख्नुपर्ने पनि जनाएको छ ।

त्यस्तै, विभागले सबै म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीसम्बन्धी श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कबापतको भौचर, रसिद वा भरपाई अनिवार्य रूपमा वैदेशिक रोजगारमा जाने कामदारलाई दिनुपर्ने बताएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग १० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिने म्यानपावर कम्पनीमाथि कडा कारबाही गर्ने बताएलगत्तै नयाँ प्रावधान कार्यान्वयनमा आएको हो । उनले तोकिएभन्दा एक रुपैयाँ पनि बढी लिए सरकारले म्यानपावर व्यवसायीको लाइसेन्स नै खारेज गर्ने चेतावनी दिएका छन् ।

यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आइतबार संघलाई छाता संस्था मान्ने घटक संस्थाका अध्यक्ष तथा महासचिवसँग छलफल गरेको थियो । संघले मंगलबार मन्त्री साहलाई आफ्नो भनाइ राख्ने तयारी गरेको छ ।

संघले १० हजार रुपैयाँमा कामदार पठाउनुपर्ने सरकारी दृष्टिकोण अव्यावहारिक र तर्कसंगत नभएको भन्दै सरकार लचक नभएको अवस्थामा वैदेशिक रोजगारमा कामदार पठाउन बन्द गरिने चेतावनी दिएको छ ।

सम्बन्धित खबर