
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूलाई निवेदन दिन आह्वान गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै चैत १७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार इच्छुक स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि आगामी १० दिनभित्र निवेदन पेस गर्न आह्वान गरेको हो ।
रोजगारीमा जाने कामदारले सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ । निवेदन दिने समयसम्म कम्तीमा तीन हजार जना बिरामी परीक्षण गरेको र ६ महिनासम्म सञ्चालन भएको प्रमाणित कागजात पनि पेस गर्नुपर्नेछ ।
सरकारी र निजी स्वास्थ्य संस्थाहरूका लागि निवेदनका साथ पेस गर्नुपर्ने कागजातहरू फरक–फरक तोकिएका छन् ।
निजी स्वास्थ्य संस्था सूचीकरणका लागि निवेदनका साथ नोटरी पब्लिकबाट प्रमाणित स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट प्राप्त सञ्चालन स्वीकृति प्रमाणपत्र, सञ्चालकको नागरिकताको प्रमाणपत्र, संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने बताइएको छ ।
यसका अतिरिक्त संस्थाको प्रबन्धपत्र तथा नियमावली, अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, संस्थाको नाम, ठेगाना, इमेल, फोन नम्बर तथा सञ्चालकको नाम, थरसहितको मोबाइल नम्बर खुलेको पत्र, प्याथोलोजिस्ट, नर्स, रेडियोलोजिस्ट, जनरल मेडिकल डाक्टरसमेत अन्य कर्मचारीको विवरण, घर भाडामा लिई संस्था सञ्चालन गरिएको भए कम्तीमा दुई वर्षका लागि घर भाडामा लिएको सम्झौतापत्रको प्रतिलिपिसहित अनुसूची–१ मा उल्लेखित मापदण्ड पूरा गरिएको छ भन्ने संस्थाले स्वयं घोषणा गरेको पत्र पेस गर्नुपर्ने बताइएको छ ।
सरकारी स्वामित्व रहेका स्वास्थ्य संस्थाको हकमा पनि सूचीकरणका लागि निवेदन साथ नोटरी पब्लिकबाट प्रमाणित स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट प्राप्त सञ्चालन स्वीकृति प्रमाणपत्रको प्रतिलिपि, संस्थाको नाम, ठेगाना, इमेल, फोन नम्बर र अस्पताल सञ्चालक समितिको निर्णय, निवेदन दिने समयसम्म कम्तीमा तीन हजार जना बिरामी परीक्षण गरेको र ६ महिनासम्म सञ्चालन भएको प्रमाणित कागजातसहित संस्थाले स्वयं घोषणा गरेको पत्र पेस गर्नुपर्नेछ ।