२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

दुई सातामै श्रममन्त्री साह बर्खास्त

Nada
२०८२ चैत २७ गते ०६:०५
Shares
दुई सातामै श्रममन्त्री साह बर्खास्त

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई नियुक्तिको १४ दिनमा नै पदमुक्त गरेका हुन् । उनी चैत १३ गते श्रममन्त्री नियुक्त भएका थिए ।

ncell

साहलाई मन्त्रीबाट पदमुक्त गरेपछि रिक्त रहेको श्रम मन्त्रालयको जिम्मेवारी  तत्कालका लागि प्रधानमन्त्री शाहले आफैंसँग राखेका छन् ।

साहमाथि मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको आरोप छ ।

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । मन्त्री साहको गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए । सोही सिफारिसको आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्री शाहको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ । साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो ।

महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका थिए । चिकित्सा क्षेत्रबाट राजनीति प्रवेश गरेका साह बहुआयामिक शैक्षिक र व्यावसायिक पृष्ठभूमि भएका व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी हाल लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’का रूपमा अध्ययनरत छन् । यसअघि उनले लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी, प्लानिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् ।

त्यस्तै, इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर, अप्टोमेट्रीमा उच्च अध्ययन र नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गरेका छन् । विश्व स्वास्थ्य संगठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता अन्तर्राष्ट्रिय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारसम्बन्धी अनुभव बटुलेका साह मैथिली भाषा, कला र साहित्यको प्रवर्धनमा पनि सक्रिय रहेको बताइन्छ ।

पदभार ग्रहण गर्दै साहले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सीप र तालिमलाई उच्च प्राथमिकतामा राख्ने बताएका थिए ।

नेपाली कामदारलाई दक्ष बनाएर सुरक्षित र सम्मानजनक रोजगारीमा पठाउने आफ्नो मुख्य योजना रहेको उनले बताएका थिए । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको पाँच वर्षे रणनीतिक योजनासम्बन्धी फाइल सदर गर्दै कामको थालनी गरेका साहले १४ दिनको अवधिमा वैदेशिक रोजगारमा जाने कामदारलाई १० हजारभन्दा बढी नतिर्न आफ्नै आवाजमा भिडियो सन्देश जारी गर्दै तोकिएभन्दा बढी रकम लिनेको इजाजतपत्र खारेज गर्ने चेतावनी दिएका थिए ।

वैदेशिक रोजगार क्षेत्र सुधार तथा व्यवस्थापन गर्नका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पेस गरेको ७ बुँदे सुझावपत्र ग्रहण गरेपछि उनले कार्यदल गठन गरिने बताएका थिए ।

मन्त्री साहसँग छोटो सहकार्य गरेका संघका महासचिव महेशकुमार बस्नेत युवा उमेरका मन्त्री  जिज्ञासु र परिवर्तनमा प्रतिबद्ध रहेको आफूले महसुस गरेको बताउँछन् ।

१४ दिनको अवधिमा मन्त्री साहले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूलाई निवेदन खुला गरे । उनले सुरुवातमै खाडी मुलुकमा कार्यरत काउन्सेलर श्रम तथा श्रम सहचारीहरूसँग छलफल गरेका थिए । 

त्यस्तै उनले ५ मुलुकसँग तत्कालै द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय गरेका थिए । तर ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए लक्ष्यमा पुगिन्छ’ भन्ने भनाइसँग मेल खानेगरी उनले हतार गरे । उनको हतारोले आफूमात्रै चिप्लिएनन्, आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउने अवस्थामा पुर्‍याए ।

सम्बन्धित खबर