
काठमाडौं : मलेसिया र बंगलादेशबीच मलेसियामा बंगलादेशी कामदारका लागि श्रम बजार पुनः खोल्ने विषयमा सहमति भएको छ । उक्त सहमतिसँगै श्रम बजार पुनः सञ्चालन प्रक्रियालाई तीव्रता दिने निर्णय पनि गरिएको छ । यसका लागि दुवै देशबीच ७ बुँदे सहमति भएको छ ।
मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्व मानव संशाधन मन्त्री रामानन रामकृष्णनले गरेका थिए भने बंगलादेशी टोलीको नेतृत्व श्रम, रोजगार तथा प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्री आरिफुल हक चौधरीले गरेका थिए । छलफलमा बंगलादेशका प्रधानमन्त्रीका सल्लाहकार महदी अमिनको पनि उपस्थिति रहेको थियो ।
दुवै मुलुकले निष्पक्ष, नैतिक र पारदर्शी भर्ना प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गर्दै मलेसियाको क्षेत्रीय आवश्यकताअनुसार बंगलादेशी कामदारका लागि श्रम बजार पुनः खोल्ने कामलाई तीव्रता दिने सहमति गरेका छन् । भर्ना प्रक्रियामा मध्यस्थकर्ताको भूमिका घटाई बसाइँसराइ लागत कम गर्न संरचनात्मक चुनौतीहरू समाधान गर्ने र विश्वसनीय तथा योग्य प्रणाली अवलम्बन गर्ने सहमति भएको छ । साथै, मलेसियाको मानव संशाधन मन्त्रालयले सिफारिस गरेका एजेन्सीमार्फत भर्ना प्रक्रिया सञ्चालन गर्ने तथा अलपत्र कामदारको व्यवस्थापनलाई द्रुत र सहज बनाउने विषयमा पनि सहमति भएको छ ।
बंगलादेशबाट कामदार भित्र्याउँदा मलेसियाले सबै स्रोत देशमा लागू हुने प्रविधि–आधारित भर्ना प्रणाली कार्यान्वयन गर्ने जनाएको छ । यस प्रणालीले मध्यस्थकर्ताको भूमिका हटाउँदै आप्रवासन लागत घटाउने र रोजगारदाताले भर्नाको सम्पूर्ण खर्च वहन गर्ने व्यवस्था सुनिश्चित गर्नेछ, जसबाट कामदारलाई शून्य लागतको लाभ पुग्ने अपेक्षा गरिएको छ । बंगलादेशले पनि कामदार पठाउने स्रोत मुलुकहरूलाई समेट्ने डिजिटल प्लेटफर्म कार्यान्वयनमा पूर्ण सहयोग र तत्परता जनाएको छ ।
यसैगरी दुवै पक्षले अनियमित कामदारहरूले भोगिरहेका समस्याहरू समाधान गर्न सीप विकास, तालिम, प्रमाणीकरण तथा सूचना आदानप्रदानमा सहकार्य बढाउने र बजारको मागअनुसार श्रम आपूर्ति व्यवस्थापन गरी उत्पादकत्व वृद्धि गर्ने विषयमा पनि छलफल गरेका छन् ।
मलेसियामा बंगलादेशी कामदारलाई नेपाली कामदारका प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिन्छ । यता, नेपाल र मलेसियाबीचको श्रम सम्झौताको अवधि सकिएको लामो समय बितिसक्दा पनि नवीकरण हुन सकेको छैन । हाल मलेसियामा करिब ९ लाख बंगलादेशी कामदार कार्यरत रहेका छन् ।