
काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै रामजी यादवलाई श्रममन्त्रीमा नियुक्त गरेका हुन् ।
शुक्रबार नै शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त श्रममन्त्री यादवसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
दीपककुमार साह बर्खास्तीमा परेपछि रिक्त रहेको श्रममन्त्री पदमा यादव नियुक्त भएका हुन् । यादव सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
इन्जिनियरिङ पृष्ठभूमिबाट आएका उनी प्राविधिक ज्ञान, सामाजिक फिल्डवर्क र मधेश आन्दोलनका अनुभवी मानिन्छन् ।
३० वर्षीय यादवले विद्युत् इन्जिनियरिङमा बीइ गरेका छन् भने नवीकरणीय उर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारजस्ता विषयमा दख्खल राख्छन् । सबइन्जिनियरिङ कलेज स्थापना, राजविराजको फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्रको पहल, राज रंगशाला खेलमैदानको पूर्वाधार निर्माणलगायतका काममा संलग्न भएका उनी प्राविधिक ज्ञानलाई प्रत्यक्ष सेवा र पूर्वाधार विकाससँग जोड्ने योजनामा आफू रहेको बताउँछन् ।