
काठमाडौं : वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चको अध्यक्षमा पुनः धनलाल जैसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमार्फत अध्यक्षमा कान्तिपुर म्यानपावर सर्भिस प्रा.लि.का सञ्चालक जैसी पुनः निर्वाचित भएका हुन् । अध्यक्ष जैसीको यो तेस्रो कार्यकाल हो ।
मञ्चको उपाध्यक्षमा हेराल्ड इन्टरनेसनल प्रा.लि.का सञ्चालक परमेश्वर अधिकारी र अल वायज जब सोलुसन्स प्रा.लि.का सञ्चालक ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् । मञ्चको महासचिवमा आकृति रिक्रुटिङ प्रा.लि.का सञ्चालक कुन्छा दोर्जे दिमदोङ निर्वाचित भएका छन् ।
सचिवमा माइलस्टोन इम्प्लोइमेन्ट ओभरसिज प्रा.लि.का सञ्चालक बासु पुडासैनी र कोषाध्यक्षमा युनिभर्सल एचआर सोलुसन प्रा.लि.का सञ्चालक भरत सापकोटा निर्वाचित भएका छन् ।
मञ्चको सदस्यमा सोमबहादुर लो, मेगबहादुर राउत, नवराज पाण्डे, रेखा शर्मा, बिमल बस्नेत र दीपा बूढाथोकी चयन भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । साधारणसभाले अध्यक्ष जैसी, महासचिव दिमदोङ तथा कोषाध्यक्ष भरत सापकोटाले पेस गरेका प्रतिवेदनहरु पारित गरेको छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मल्लले श्रमिक सचेतना र व्यवसायीलाई कामदारप्रति उत्तरदायी बनाउँदै जान मञ्चलाई सुझाव दिए । उनले श्रम गन्तव्य मुलुकमा पारदर्शिताका आधारमा श्रम सम्झौतामार्फत कामदारको सुरक्षा गर्नुपर्ने बताउँदै वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि संसद्मा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए ।
शुभकामना मन्तव्य राख्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष दिलप्रसाद पोखरेलले वैदेशिक रोजगारमा जाने कामदारको लागत निर्धारण नभएसम्म नेपालको वैदेशिक रोजगार क्षेत्र सधैं अनिश्चित रहने भएकाले मञ्च त्यसका लागि सक्रिय रहनुपर्ने सुझाव दिए ।
वर्तमान सरकारले व्यवसायीलाई चेपुवामा पारेर समस्या समाधान खोज्ने प्रवृत्ति त्यागेर वैदेशिक रोजगारमा कामदार पठाउने भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका जस्ता छिमेकी मुलुकमा भएका असल अभ्यास अपनाउनुपर्नेमा पोखरेलले जोड दिए ।
उपाध्यक्ष परमेश्वर अधिकारी, नेकपा माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा कमिटी कार्यवाहक अध्यक्ष सोम तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिकका प्रधानसम्पादक मदनकुमार श्रेष्ठ, मञ्चका संस्थापक महासचिव केशव थापालगायतको आतिथ्यता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष जैसीले मञ्चलाई पार्टीको भ्रातृसंस्था बनाउन आग्रह गर्दै सांसद मल्लसँग संसदीय समितिहरूमार्फत देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगार सुरक्षित बनाउन भूमिका खेल्न आग्रह गरे ।