२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

नयाँ श्रम स्वीकृति खोल्न चौतर्फी माग

Nada
२०८३ वैशाख १ गते ०६:१५
Shares
नयाँ श्रम स्वीकृति खोल्न चौतर्फी माग

काठमाडौं : इरान वा अमेरिकाबाट आउने ड्रोनले नयाँलाई मात्रै लाग्ने र पुरानोलाई नलाग्ने भन्ने कुनै ग्यारेन्टी हुन्छ ? भन्ने प्रश्न उठाउँदै वैदेशिक रोजगारीको नयाँ श्रम स्वीकृति खोल्न दबाब बढेको छ ।

ncell

भिसा आए पनि रोजगारीमा जान नपाएका शिव तिवारीको टिप्पणी छ, ‘यदि जोखिम हुन्छ भने त्यो सबैका लागि हुन्छ– नयाँ र पुराना दुवैका लागि । त्यसैले पुराना मात्रै पठाउने, नयाँलाई रोक्ने भन्ने निर्णयले समस्या समाधान हुँदैन । यस्तो भ्रममा राखेर हजारौं युवाको भविष्य अनिश्चित बनाउनु ठिक होइन ।’

वैदेशिक रोजगारीमा जान कतारको भिसा भएका श्याम राना भन्छन्, ‘यदि विदेश जान जोखिम छ भने त्यो सबैका लागि समान हो । तर यदि श्रम स्वीकृति दिइएको छ भने नयाँ श्रम स्वीकृति पनि खुला गरिदिनुपर्छ । हामीलाई झुटो आशामा नराख्नुहोस् । हजारौं युवाको भविष्य र परिवारको जिम्मेवारी यससँग जोडिएको छ ।’

युवाहरूले आफूहरूले यो माग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालय, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम मन्त्रालयअन्तर्गतको श्रमाधान कल सेन्टरमा लिखित रूपमा पठाएको पनि बताएका छन् ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि सरकारले चैत ३ गतेदेखि ठुलो संख्यामा नेपाली कार्यरत खाडीका १२ मुलुक साउदी, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा नयाँ श्रम स्वीकृति दिन रोक लगाएको छ ।

श्रम स्वीकृति रोकिँदा दैनिक करिब दुई हजार नयाँ नेपाली वैदेशिक रोजगारीमा जानबाट वञ्चित भएका छन् । खाडी मुलुकमा पूर्ण शान्ति कहिले र कसरी स्थापना हुनेछ भन्ने अनिश्चित देखिएको छ ।

साउदी अरबमा क्रियाशील नेपाली सामाजिक संस्थाहरूले पनि मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति स्थगन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले राज्यले नागरिकको सुरक्षाका लागि सावधानी अपनाउनु सकारात्मक भए पनि श्रम स्वीकृति रोक्दा नेपाली कामदारको बजार नै प्रभावित हुने बताएका छन् ।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले नयाँ श्रम स्वीकृति खोल्ने विषय नीतिगत भएको बताउँदै त्यसमा परराष्ट्र मन्त्रालयले निर्णय गर्नुपर्ने बताएकी छन् ।

ताजा खबर

सम्बन्धित खबर