
क्वालालम्पुर, मलेसिया : मलेसियाको अध्यागमन विभागले नेपाली नागरिकको नेतृत्वमा सञ्चालित मानव तस्करी तथा नक्कली कागजात बनाउने गिरोहमाथि ठुलो कारबाही गर्दै मुख्य योजनाकारलाई पक्राउ गरेको बताएको छ ।
विभागले ४३ वर्षीय नेपाली नागरिक महेन्द्रजंग शाहलाई राजधानी क्वालालम्पुर क्षेत्रमा गरिएको छापामार कारबाहीका क्रममा पक्राउ गरिएको बताएको छ । प्रहरीले उनलाई क्वालालम्पुरको जालान ग्यालोवे आसपास निसान सेन्ट्रा कारमा भाग्न खोज्दा नियन्त्रणमा लिएको थियो । शाह जाजरकोट निवासी हुन् । मलेसियामा मुख्यगरी बंगलादेशका नागरिक भिसा ठगी प्रकरणमा उनी पटकपटक पक्राउ पर्दै आएका छन् । हालसम्म ठुलो परिणामको ठगीको आरोपमा नेपाली पक्राउ परेका थिएनन् ।
शाहसँग वैध विदेशी आवास अनुमति रहेको भए पनि यसअघि सन् २०१६ मा मलेसियाको विशेष आतंकवादविरोधी शाखाले समेत उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । अध्यागमन महानिर्देशक दातुक जकारिया शाबानले शाहको गिरोह सन् २०१९ देखि नक्कली भिसा र कागजात बनाउने काममा सक्रिय रहँदै आएको र हालसम्म १० करोड रिंग्गेटभन्दा बढी आम्दानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।
कारबाहीका क्रममा २६ देखि ६१ वर्ष उमेर समूहका ९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शाहसहित भारतीय, बंगलादेशी नागरिक, एक स्थानीय पुरुष र स्थायी बसोबास अनुमति प्राप्त एक भियतनामी महिला रहेका छन् । ती स्थानीय पुरुष र भियतनामी महिला गिरोहसँग जोडिएका कम्पनीका सञ्चालक रहेको आशंका गरिएको छ ।
६ महिनासम्मको गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको उक्त अपरेसनमा सुरक्षा स्टिकरसहितका नक्कली ई–पास, १११ वटा राहदानी, १० ल्यापटप, ६ मोबाइल फोन र ३ हजार ९५० रिंगेट नगद बरामद गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार गिरोहले विदेशी कामदारलाई अवैध रूपमा मलेसिया प्रवेश गराइदिने र त्यसपछि नक्कली आप्रवासन कागजात उपलब्ध गराउँदै प्रति व्यक्ति ६ हजार रिंगेट करिब सवा दुई लाख रुपैयाँसम्म असुल्ने गरेको बताइएको छ ।
घटनाबारे आप्रवासन ऐन तथा गैरकानुनी आम्दानी, आतंकवाद वित्तपोषण र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन २००१ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दोषी ठहरिएमा संलग्न व्यक्तिलाई अधिकतम १० लाख रिंगेट जरिवाना र १५ वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान रहेको मलेसियाका अधिकारीहरूले बताएका छन् ।
शाह करिब ८ वर्षअघि आतंकवादी समूह आइसिसलाई आर्थिक सहयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए । नेपाल आएका शाह पुनः मलेसिया फर्किएको घटना मलेसियामा गत जनवरीको पहिलो हप्ता पुनः विशेष चासोको विषय बनेको थियो । सन् २०१६ मा आतंकवादी समूह आइसिसलाई आर्थिक सहयोग गरेको आरोपमा उनलाई नेपाल डिपोर्ट गरिएको चर्चा थियो ।
तर व्यवसायी शाहले उक्त आरोप कहिल्यै स्वीकार गरेका थिएनन् । शाहका विषयमा लामो समाचार प्रकाशन गरेको मलेसियाको अनलाइन मलेसियाकिनीसँग शाहले आफू कहिल्यै पनि आतंकवादी समूहसँग सम्बन्धित गतिविधिमा संलग्न नभएको बताएका थिए ।
९ जनवरी २०२६ को अंकमा मलेसियाकिनी अनलाइनले ‘आइसिसको सम्बन्धदेखि भिसासम्म : निर्वासित नेपाली शाह कसरी मलेसिया पुनः फर्किए ?’ भन्ने शीर्षकमा लामो समाचार प्रकाशन गरेको थियो ।
आफ्नो अघिल्लो निर्वासनका बारेमा विस्तृत रूपमा बताउँदै शाहले नेपाल फिर्ता पठाउनुअघि मलेसियाली अधिकारीहरूले गरेको अनुसन्धानका क्रममा आफूलाई १४ दिन हिरासतमा राखिएको भन्दै मध्यान्ह दैनिकसँग भनेका थिए, ‘यदि म साँच्चै आतंकवादी भएको भए मसँग मलेसियाको कडा कानुनअन्तर्गत निश्चित रूपमा आरोप लगाइएको पुष्टि हुने थियो ।’
अध्यागमन विभागका स्रोतहरूले शाह व्यावसायिक भिसा (डिपी–१०) प्रयोग गरेर मलेसिया फर्किएको बताएका छन् । मलेसियामा सामान्यतया उच्च दक्ष व्यक्तिहरू वा व्यवस्थापनको माथिल्लो पद धारण गर्नेहरूलाई व्यावसायिक भिसा दिइन्छ । मलेसियाको कानुनअनुसार आतंकवादी गतिविधिमा संलग्न भएको विश्वास गरिएका विदेशीहरूलाई देशमा प्रवेश गर्न स्थायी रूपमा निषेध गरिएको मानिन्छ ।
शाह व्यावसायिक भिसामा मलेसिया पुगेपछि ‘उनी कसरी फेरि मलेसिया प्रवेश गर्न सफल भए ?’ ‘कतै ठुलै सुरक्षा कमजोरी त भएन ?’ भन्दै केही पक्षले आशंका गरिरहेका थिए । मलेसियाको बुकित अमनको विशेष शाखा डिभिजन अन्तर्गतको आतंकवाद विरोधी कार्यालयले शाहलाई १९ अगस्ट २०१६ मा हिरासतमा लिई सोही वर्ष सेप्टेम्बर २ मा डिपोर्ट गरिएको बताएको छ ।
त्यतिबेलाका मलेसियाका प्रहरी महानिरीक्षक खालिद अबु बकरले शाहले आतंककारीहरूको यात्रा सहज बनाउन कागजातहरू नक्कल गर्ने गरेको आशंका गरेका थिए । मलेसियाका लागि नेपालका तत्कालीन राजदूत निरञ्जनमान सिंह बस्न्यातले १४० विदेशीलाई नक्कली मलेसियाली भिसा जारी गर्ने आरोपमा शाहलाई पक्राउ गरिएको बताएका थिए । तर शाहले बस्न्यातविरुद्ध नेपालमा भ्रष्टाचारको उजुरी दर्ता गरेपछि आफूलाई व्यक्तिगत द्वेषप्रेरित आरोप लगाएको दाबी गरेका थिए । शाहले भनेका छन्, ‘निरञ्जनले मलाई आइसिससँग जोडेर बदनाम गर्ने प्रयास गरे, जुन संस्था मलाई थाहा छैन र जससँग मेरो कुनै सम्बन्ध छैन ।’
शाह हाल सेलाङ्गोरको चेरासमा रहेको तमान मालुरी अपार्टमेन्टमा सफाइ सेवाहरू प्रदान गर्ने स्टेलर डायमन्ड एसडिएन बिएचडी कम्पनीको ४० प्रतिशत सेयर स्वामित्वका आधारमा निर्देशक रहेको बताइएको छ । गत वर्ष सेप्टेम्बरमा सिंगापुरमा रहेको इन्टरपोलको राष्ट्रिय केन्द्रीय ब्युरोले नेपाल प्रहरीसँग आतंकवादी र आतंकवाद–वित्तपोषण गतिविधिहरूमा संलग्नताको आशंकामा शाहका बारेमा जानकारी मागेको पनि मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।