
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतबाट सजाय सुनाइए पनि लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएका व्यक्तिहरू हुन् । उनीहरूमध्ये लेनदेन मुद्दामा दिनेश सहनी, सुरेश साह सोनार र राम सोगारथ राय यादव रहेका छन् । यस्तै, चोरीसम्बन्धी मुद्दामा सर्वजित कुमार साह र मुकेश साह तेली पक्राउ परेका छन् । बैंकिङ कसुर अन्तर्गत चेक अनादर मुद्दामा दोषी ठहर भएका रामनरेश प्रसाद पनि प्रहरीको नियन्त्रणमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अदालतमा बुझाइएको जानकारी दिए । उनका अनुसार अदालतको फैसला कार्यान्वयन गर्दै दण्डहीनता अन्त्य गर्नु प्रहरीको प्राथमिकता हो ।
“विभिन्न समयमा फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ,” डिएसपी बस्यालले भने, “लामो समयदेखि लुकिछिपी बसेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहनेछ ।”
प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई थप सशक्त बनाएको जनाएको छ । पक्राउ परेकाहरूलाई अदालतमा पेस गरी तोकिएको सजाय भुक्तानका लागि कारागार पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।