
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्थाहरू (म्यानपावर कम्पनी)लाई विज्ञापन प्रकाशन गर्दा अनिवार्य रूपमा स्पष्ट सम्पर्क विवरण उल्लेख गर्न निर्देशन दिएको छ ।
विभागद्वारा जारी सूचनामा वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्ने संस्थाहरूले राष्ट्रिय स्तरका दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र त्यसको जानकारी विभागमा पठाउनुपर्ने प्रावधान रहेको स्मरण गराइएको छ ।
तर पछिल्लो समय प्रकाशित केही विज्ञापनहरूमा आधिकारिक सम्पर्क व्यक्तिको नाम, फोन नम्बर तथा सम्पर्क स्थान स्पष्ट नभएका कारण आवेदन दिन इच्छुक व्यक्तिहरूले सम्पर्क गर्न नसकेको गुनासो आएको विभागले जनाएको छ ।
यस्ता गुनासो बढ्दै गएपछि विभागले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापनमा अनिवार्य रूपमा आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र सम्पर्क स्थान खुलाउन आग्रह गरेको हो ।
साथै, संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रका लागि पूर्व स्वीकृति आवेदन गर्दा समेत सम्पर्क व्यक्तिको नाम, नम्बर र ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
विभागले तोकिएको व्यवस्था कार्यान्वयन नगरेमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।
