
दम्माम, साउदी अरब : साउदी अरबको पूर्वी क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा सर्वसाधारणलाई लक्षित गर्दै रियादस्थित नेपाली दूतावासले आयोजना गरेको दुई दिने राहदानी (पासपोर्ट) सेवा शिविर शुक्रबारदेखि दम्माममा सुरु भएको छ ।
शिविरको पहिलो दिनमै सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति देखिएको दूतावासले जनाएको छ । प्राप्त विवरणअनुसार पहिलो दिन ५७७ जनाले नयाँ राहदानीका लागि आवेदन दिएका छन्। यसैगरी, यसअघि आवेदन दिई तयार भएका ४५७ वटा राहदानी वितरण गरिएको छ भने ३१ जनाको ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) सम्बन्धी प्रक्रिया समेत सम्पन्न गरिएको छ ।

दूतावासका श्रम सहचरी कविराज उप्रेतीको नेतृत्वमा सञ्चालन भइरहेको उक्त शिविरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले विशेष समन्वय गरेको छ । साथै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का सचिव राजेन्द्र अर्याल ले व्यवस्थापन र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।
शिविर सञ्चालनमा साउदी अरबको पूर्वी क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूले पनि महत्वपूर्ण सहयोग पुर्याइरहेका छन् । दम्माम तथा आसपासका क्षेत्रमा कार्यरत नेपालीहरूलाई राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवा लिन रियादसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको दूतावासले जनाएको छ ।
शनिबारसम्म सञ्चालन हुने उक्त शिविरबाट सयौं नेपाली लाभान्वित हुने अपेक्षा गरिएको छ । टाढा–टाढाबाट आएका श्रमिकहरूले आफ्नै कार्यथलो नजिकै सेवा पाउँदा सहज भएको प्रतिक्रिया दिएका छन् ।


