
काठमाडौं : मलेसियामा सुरक्षागार्ड, होटल, म्यानुफ्याक्चरिङ, प्लान्टेसन, क्लिनरलगायतका काममा नेपाली कार्यरत रहेका छन् । तर सुरक्षागार्डको काममा रहेका ३० हजारभन्दा बढी नेपालीले डेढ वर्ष अवधि भइसक्दा समेत न्यूनतम तलब मासिक १७ सय रिंगेट पाउन नसकेको गुनासो गरिरहेका छन् ।
मलेसियास्थित नेपाली दूतावासले सञ्चालन गर्ने साप्ताहिक फेसबुक कार्यक्रममा शुक्रबार पनि सुरक्षागार्डहरूले न्यूनतम तलब नपाएको र नेपाली दूतावासले तोकिएको तलब नदिने कम्पनीलाई कारबाही नगर्दा आफूहरू शोषणमा परेको गुनासो गरे ।
शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममा सहभागीहरूले राहदानी र तलबको विषय नै उठाए । अधिकांशले सेक्युरिटी कम्पनीहरूले तोकिएको तलब र सेवा–सुविधा नदिँदा पनि नेपाली दूतावासबाट अनुगमन र कारबाही नगरेको जिकिर गरे ।
सेक्युरिटी कम्पनीले तोकिएको तलब नदिएको, बिना तलब अतिरिक्त समय काम गराएको, हप्ताको एक दिन बिदासमेत नदिएको उनीहरूको गुनासो छ । केही कम्पनीले बैंकमार्फत तलब नदिएको र बिदा नदिएको कतिपय नेपालीहरूको गुनासो छ । उनीहरूले उजुरी ह्वाट्सएप र इमेलमार्फत दैनिक सयौंको संख्यामा नेपाली दूतावासमा दर्ता गर्ने गरेका छन् ।
नेपाली सुरक्षागार्डहरूलाई १२ घण्टासम्म काम लगाएर १७ सयदेखि बढीमा दुई हजार रिंगेटसम्म तलब दिएर शोषण गरेको समाचार मलेसियाली सञ्चारमाध्यमहरूमा पनि आउने गरेका छन् ।
नेपाली दूतावासले सेक्युरिटी कम्पनीको संख्या ठुलो भएको र दूतावासको जनशक्ति कम भएकाले अनुगमनमा केही समस्या रहेको, तर तोकिएको तलब–सुविधा नदिने कम्पनीलाई कारबाही गर्न नरोकिएको बताएको छ । नेपाली दूतावासले न्यूनतम १७ सय रिंगेट तलबको बैंक ट्रान्सफरको स्लिप, सामाजिक सुरक्षा कोष र सेवा–सुविधा सुनिश्चित नगरेसम्म मागपत्र प्रमाणीकरण नगर्ने जनाएको छ ।
मलेसियामा लगभग ८ सय इजाजतपत्र प्राप्त सेक्युरिटी कम्पनीहरू छन्, जसमध्ये धेरैले नेपालबाट सुरक्षा सेवाका लागि कामदार आपूर्ति गर्ने गरेका छन् ।