२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

वैदेशिक रोजगारका नाममा अनधिकृत विज्ञापन नगर्न बोर्डको चेतावनी

Nada
२०८३ वैशाख ८ गते ०६:२०
Shares
वैदेशिक रोजगारका नाममा अनधिकृत विज्ञापन नगर्न बोर्डको चेतावनी

काठमाडौं : विज्ञापन बोर्डले वैदेशिक रोजगारीसम्बन्धी विषयमा सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न–नगराउन सचेत गराएको छ ।

ncell

आकर्षक रोजगारीको प्रलोभन देखाई टिकटक, फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालका माध्यमबाट विज्ञापन गरी विश्वका विभिन्न देशमा कामदार लैजाने र उनीहरूलाई अनलाइन स्क्यामिङको ठगी धन्दामा लगाउने गरेको पाइएको भन्दै बोर्डले विभिन्न देशमा रहेका नेपाली दूतावासबाट त्यससम्बन्धी उजुरी परराष्ट्र मन्त्रालयमार्फत बोर्डमा आएको बताएको छ ।

बोर्डले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्र वैदेशिक रोजगारमा जान तथा सामाजिक सञ्जालमा प्रकाशित भ्रमपूर्ण विज्ञापनको भरमा नपर्नसमेत अनुरोध गरेको छ । बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ तथा नियमावलीको नियम १४ विपरीत विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न–नगराउन पनि अनुरोध गरेको छ ।

मानव तस्करीमा संलग्न व्यक्तिहरूले नेपाली युवायुवतीहरूलाई भ्रममा पारी सामाजिक सञ्जालमार्फत ठग्ने गरेकोसमेत पाइएको र यसरी सामाजिक सञ्जालमार्फत ठगी, प्रलोभन र भ्रममा परेर विभिन्न मुलुकमा बेवारिसे अवस्थामा रहेका युवायुवतीहरूको नेपाली दूतावासमार्फत उद्धार गर्नुपरेको बोर्डको भनाइ छ । 

भ्रम वा अफवाह फैलाउने विज्ञापन गर्न नहुने व्यवस्था विज्ञापन ऐन, वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा रहेको भन्दै बोर्डले कानुनी प्रावधानविपरीत विज्ञापन गरेको पाइएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न पनि आग्रह गरेको छ ।

त्यसैगरी, बोर्डले भ्रम तथा अफवाह फैलाउने तथा ठगी गर्ने उद्देश्यले प्रकाशित तथा प्रसारित विज्ञापन तत्काल हटाउन पनि आग्रह गरेको छ । पछिल्ला दिनहरूमा नेपालभित्रै तथा युएईमा रहेका ट्राभल्स एजेन्सीहरूले विज्ञापन ऐन, वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीविपरीत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने योजना बनाई टिकटक, फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापन गर्ने गरेका छन् ।

विभागमा ठगीमा परेको भन्दै उजुरी दर्ता गर्न आउने युवायुवतीले यस्तै सामाजिक सञ्जालका विज्ञापनको भरमा रकम पठाउँदा ठगीमा परेको बताउने गरेका छन् । उनीहरूले ठगीको सञ्जालमा रहेका व्यक्तिहरूले रकम हात पार्नु अघि तत्कालै भिसा आउने बताउने, तर रकम प्राप्त गरेपछि मोबाइल र सामाजिक सञ्जाल बन्द गरेर सम्पर्कविहीन हुने गरेको बताउँछन् ।

ताजा खबर

सम्बन्धित खबर