
काठमाडौं : प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने मकवानपुरका ३२ वर्षीय शक्ति लामा, काठमाडौं चन्द्रागिरि बस्ने उदयपुरका ४९ वर्षीय विष्णु बुढाथोकी र काठमाडौं कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये शक्तिले अजरबैजान र फिजी पठाइदिने भन्दै ६ जना पीडितबाट २६ लाख ६३ हजार ७ सय १० रुपैयाँ, विष्णुले ब्रुनाई पठाइदिने भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र सुस्मिताले अस्ट्रिया पठाइदिने भन्दै १ जना पीडितबाट १७ लाख रुपैयाँ लिएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।