२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

आपसी विवाद रोक्न संघ नेतृत्वलाई खबरदारी

Nada
२०८३ वैशाख ११ गते ०६:२०
Shares
आपसी विवाद रोक्न संघ नेतृत्वलाई खबरदारी

काठमाडौं : वैदेशिक रोजगार क्षेत्रका अग्रज तथा घटक संस्थाका अध्यक्षहरूले आपसी मतभेद बिर्सेर समस्या समाधानका लागि अग्रसर हुन संघ कार्यसमितिको असन्तुष्ट पक्षलाई सुझाव दिएका छन् ।

ncell

संघका अध्यक्ष भुवनसिंह गुरुङ तथा महासचिव महेशकुमार बस्नेतले एक–अर्कालाई कारबाही र निलम्बन गरिरहेका बेला संघका अग्रजहरूले उक्त सुझाव दिएका हुन् । 

संघको असन्तुष्ट पक्षले बिहीबार पूर्वअध्यक्ष, घटक संस्थाका अध्यक्ष तथा महासचिवसँग छलफल गरेको थियो । पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालले टुटफुट र आरोप–प्रत्यारोप छाडेर व्यवसायी हितमा लाग्न सुझाव दिएका छन् । पूर्वअध्यक्ष कटुवालले भने, ‘विभिन्न कारणले व्यवसायमाथि प्रतिकूल अवस्था सिर्जना हुँदैछ, त्यसको सामना गर्न आरोप–प्रत्यारोप होइन भन्ने नै मेरा सुझाव हो । संघ प्रभावकारी रूपमा क्रियाशील हुने अवस्था बनाउनुपर्छ ।’

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजका अध्यक्ष किशन प्रधानले करिब ४ दशकको इतिहासमा पछिल्ला वर्षहरूमा संघको प्रभावकारिता खस्किएको बताए । उनले नेतृत्वले सबैको विश्वास साथमा लिए अघि बढ्नुपर्ने नभए मार्गप्रशस्त गर्नुपर्ने आफ्नो दृष्टिकोण रहेको बताए । उनले भने, ‘व्यवसायीलाई पेसा व्यवसाय गरेर खाने अवस्था छैन, संघले व्यवसाय गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्छ ।’

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलले वर्तमान नेतृत्वमाथि गम्भीर प्रश्नहरू उठेको भन्दै त्यसले संघभित्र अस्थिरता सिर्जना गरेको बताए । उनले भने, ‘सरकार परिवर्तनसँगै हाम्रो व्यावसायिक क्षेत्रलाई स्वर्ण युगतर्फ उन्मुख गराउने महत्वपूर्ण अवसर प्राप्त भएको थियो । तर उक्त अवसरलाई परिणाममुखी बनाउनुपर्ने मूल नेतृत्व नै विवादित गतिविधिमा संलग्न हुनु तथा कार्यसमितिलाई विश्वासमा लिन नसक्नु, नेतृत्वको अक्षमताको स्पष्ट संकेत हो ।’

अध्यक्ष रावलले अहिलेको परिस्थितिमा विवादित मूल नेतृत्वद्वारा अघि सारिएका मुद्दाहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा सम्बन्धित निकायहरूले कति गम्भीरतापूर्वक लिन्छन् भन्ने विषयमा स्वाभाविक रूपमा प्रश्न उठेको बताए । उनले यस्तो अवस्थामा संघको गरिमा जोगाउन तथा संस्थागत स्थायित्व कायम गर्न अध्यक्षले मार्गप्रशस्त गर्नु नै उपयुक्त र आवश्यक रहेको बताए ।

छलफलमा संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाका महासचिव मधुकर रिजाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका महासचिव मिलन कट्टेललगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर