
रियाद : साउदी अरबस्थित नेपाली राजदूतावास रियाद को पहलमा १३६ जना नेपाली नागरिकको ‘फाइनल एक्जिट भिसा’ (बहिर्गमन भिसा) जारी भएको छ ।
दूतावासले बिहिबार एक सूचना प्रकाशित गर्दै प्रक्रियामा रहेका र सूचीकृत नेपालीहरूलाई यथाशीघ्र स्वदेश फर्किन अनुरोध गरेको छ ।
विभिन्न कारणले आवासीय अनुमति पत्र (इकामा) को म्याद समाप्त भई कानुनी जटिलताका कारण स्वदेश फर्कन नसकेका नेपालीहरूलाई लक्षित गर्दै दूतावासले पछिल्लो समय सहजीकरण तथा कानुनी प्रक्रिया तीव्र बनाएको जनाएको छ ।
इकामा म्याद समाप्त भइसकेका र स्वदेश फर्कन इच्छुक नेपालीहरूले दूतावासबाट तीन पृष्ठको सिफारिसपत्र लिएपछि अनिवार्य रूपमा साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (एचआरएसडी ) को अनलाइन पोर्टलमार्फत दर्ता गर्नुपर्ने व्यवस्था छ।
सेवाग्राहीहरूले sso.hrsd.gov.sa मा गई आफ्नो इकामा नम्बर तथा हिजरी पात्रोअनुसारको जन्ममिति प्रयोग गरी खाता खोल्नुपर्नेछ र ‘फाइनल एक्जिट’ का लागि आवेदन दिनुपर्नेछ।
आवेदनपछि प्राप्त हुने ‘डिस्प्याच नम्बर’ वा ‘क्यूआर कोड’ सहित सक्कल इकामा तथा राहदानीको प्रतिलिपि दूतावासमा पेश गरेपछि करिब दुई हप्ताभित्र बहिर्गमन भिसाको अन्तिम प्रक्रिया सम्पन्न हुने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मोबाइलमा एक्जिट भिसा जारी भएको सन्देश प्राप्त भइसकेका व्यक्तिहरूले सोही सन्देश विमानस्थलमा देखाएर यात्रा गर्न सक्नेछन् र थप कागजात लिन दूतावास पुग्नुपर्ने छैन । तर, सन्देश प्राप्त नभएका व्यक्तिहरूले भने दूतावासमा सम्पर्क गरी एक्जिट भिसाको कागजात लिनुपर्नेछ ।
एक्जिट भिसा प्रक्रिया पूर्ण रूपमा निःशुल्क रहेको जनाउँदै दूतावासले भिसा प्राप्त भएपछि स्वदेश फर्कने हवाई टिकट भने सम्बन्धित व्यक्तिले स्वयं व्यवस्था गर्नुपर्ने स्पष्ट पारेको छ । साथै, टिकट खरिद गर्नुअघि भिसामा उल्लेखित राहदानी नम्बर र आफूसँग भएको राहदानी नम्बर मिलेको यकिन गर्न पनि अनुरोध गरिएको छ ।
थप जानकारी वा कुनै प्राविधिक समस्या परेमा सेवाग्राहीहरूले राजदूतावास रियाद तथा नेपाली महावाणिज्यदूतावास जेद्दा मा सम्पर्क गर्न सक्नेछन् ।


