
रुकुम पश्चिम : जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्षभर सञ्चालन गरेको विशेष अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा गरिएको अफिम खेती व्यापक रूपमा नष्ट गरेको जनाएको छ ।
प्रहरीका अनुसार आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न वडामा लगाइएको अफिम खेती फरक–फरक मितिमा पुगेर नष्ट गरिएको हो । अभियानमा प्रहरी चौकी गोतामकोट, अस्थायी प्रहरी पोस्ट स्यालाखदी, प्रहरी चौकी सिम्ली तथा इलाका प्रहरी कार्यालय बाँफिकोटबाट खटिएका टोलीले संयुक्त रूपमा सहभागिता जनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख बेदबहादुर पौडेलसहित जिल्ला प्रशासनको टोलीले समेत स्थलगत रूपमा पुगेर अवैध खेती नष्ट गर्ने कार्यमा सक्रियता देखाएको प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २०८२ फागुन २६ गतेदेखि २०८३ वैशाख १० गतेसम्म सञ्चालन गरिएको अभियानमा कुल ५१८ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती नष्ट गरिएको हो । तीमध्ये सबैभन्दा बढी खेती आठबिसकोट नगरपालिका–२ र ५ मा फेला परेको थियो। सानीभेरी र बाँफिकोट क्षेत्रमा समेत उल्लेख्य मात्रामा अफिम खेती गरिएको पाइएको प्रहरीको भनाइ छ ।
अवैध लागुऔषध उत्पादन तथा कारोबार नियन्त्रणका लागि आगामी दिनमा पनि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने जिल्ला प्रहरीले जनाएको छ ।