
रौतहट : रौतहटको गौर भन्सार क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषधसहित एक अटो चालकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो विशेष चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा लुकाइराखिएको लागुऔषध बरामद गरिएको हो ।
गौर नगरपालिका–२ स्थित भन्सार ढाँटमा जाँचका क्रममा मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटो रोकी तलासी गर्दा चालक सिटमुनि लुकाइराखिएको अवस्थामा विभिन्न इन्जेक्सन र करिब ५ ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामग्रीमा डायजेपाम, प्रोमेथाजिन र बुप्रिनोर्फिन इन्जेक्सन जनही १०० पिस, नगद ४९० नेपाली रुपैयाँ र १०० भारतीय रुपैयाँ, एक थान मोबाइल तथा अटोसमेत रहेका छन् ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–७ मुडवलवाका २० वर्षीय मोहन पण्डित छन् । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको डिएसपी प्रेमसागर विष्टले जानकारी दिए ।
सुरक्षा निकायले सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि निगरानी थप कडा बनाउने जनाएको छ ।