२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

पश्चिम एसियामा तनाव बढेयता ३० हजार नेपाली स्वदेश फर्किए

Nada
२०८३ वैशाख ११ गते १८:१४
Shares
पश्चिम एसियामा तनाव बढेयता ३० हजार नेपाली स्वदेश फर्किए

काठमाडौँ : इजरायल-अमेरिका र इरानबीच द्वन्द्व सुरु भएयता पश्चिम एसिया तथा खाडी क्षेत्रका विभिन्न मुलुकबाट करिब ३० हजार नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ncell

मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामजी खड्काले हालसम्म उक्त सङ्ख्यामा नेपाली नेपाल फर्किएको जानकारी दिए। उनले स्वदेश फर्किएका सबै नागरिक प्रत्यक्ष रूपमा युद्धकै कारण फर्किएका हुन् भन्ने निष्कर्ष भने नरहेको स्पष्ट पारे ।

द्वन्द्वपछिको परिस्थितिलाई ध्यानमा राख्दै सरकारले प्रभावित क्षेत्रका नेपाली नागरिक, तत्काल उद्धार आवश्यक परेकाहरू तथा जानकारी संकलनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको थियो। सो प्रणालीमा हालसम्म ८७ हजार ८ सय १९ जनाले नाम दर्ता गराएको मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक चरणमा ७ हजारभन्दा बढीले तत्काल उद्धार आवश्यक रहेको उल्लेख गर्दै दर्ता गराएका थिए । तर, पछिल्ला दिनमा अवस्था केही सहज बन्दै गएपछि यस्ता निवेदनको संख्या घटेको सहसचिव खड्काले बताए ।

इरानले युद्धपछिको चरणमा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षालाई ध्यानमा राखेर सरकारले निगरानी तथा समन्वय प्रक्रिया अघि बढाएको थियो । ती क्षेत्रमा १७ लाखभन्दा बढी नेपाली कार्यरत रहेको सरकारी अनुमान छ ।

युद्धपछि साउदी अरब, युएई, कतारलगायत मुलुकका केही क्षेत्रमा नेपाली श्रमिक प्रभावित भएका थिए। केही कम्पनीहरूले कामदारलाई बिदामा राखेको जानकारीसमेत आएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार हाल विशेष गरी होटेल, रेस्टुरेन्ट तथा सेवा क्षेत्रमा असर देखिएको छ। पर्यटक आगमन घटेपछि ती क्षेत्र प्रभावित बनेका हुन् । यद्यपि, त्यहाँ कार्यरत नेपालीबाट रोजगारी गुमेको वा गम्भीर समस्या परेको औपचारिक गुनासो भने हालसम्म प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर