२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

संघका बहुमत पदाधिकारी तथा कार्यसमिति सदस्यद्वारा सामूहिक राजीनामा

नयाँ निकास दिन प्रशासनकाे ध्यानाकर्षण

Nada
२०८३ वैशाख १४ गते १८:०३
Shares
संघका बहुमत पदाधिकारी तथा कार्यसमिति सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठसहित बहुमत सदस्यले सामूहिक राजीनामा गरेको बताएका छन् । उनीहरूले अध्यक्ष भूवनसिंह गुरुङले संघलाई निजी कम्पनी सरह सञ्चालन गरेको आराेप लगाएका छन् ।

ncell

निर्वाचित ७ जनामध्ये ५ जना पदाधिकारी र निर्वाचित १० जना सदस्यमध्ये ६ जना गरी ११ सदस्यले हस्ताक्षर गरी सामूहिक राजिनामा दिएको बताएका छन् ।  कार्यसमितिका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, काेषाध्यक्ष धनमाया सिंजाली, सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का, देवीप्रसाद गिरीले राजीनामा दिएकाे संघको कार्यालयमा साेमबार साँझ आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

संघको कार्यसमितिमा निर्वाचित बहुमत पदाधिकारी तथा सदस्यहरूले संघको विधानअनुसार जिम्मेवारी निर्वाह गर्ने क्रममा देखिएकाे गतल नेतृत्व भएको कारण सामूहिक राजीनामा दिने निर्णय गरेकाे उनीहरूकाे भनाइ छ।  

उनीहरूले अध्यक्षको कार्यशैली संस्थागत भन्दा व्यक्तिगत हाबी भई निजी कम्पनीको शैली झल्किएकाे, निर्णय प्रक्रिया निष्पक्ष, पारदर्शी र सामूहिक नभएको, सरकारी निकाय, व्यवसायी, कार्यसमिति तथा सरोकारवालासँग समन्वयकारी भूमिका प्रभावकारी रूपमा निर्वाह नगरिएको वैदेशिक रोजगार व्यवसाय तथा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहित र संरक्षणलाई पर्याप्त प्राथमिकता नदिई स्वकेन्द्रित ढंगले निर्णय गरेको आराेप लगाएका छन् ।

त्यसैगरी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले उठाएका विषयहरूलाई महत्व नदिने प्रवृत्ति रहेकाे, सल्लाहकारहरूको सुझाव नसुन्ने तथा सम्मानित सल्लाहकारहरूलाई अपमान, मानमर्दन गरी विधान विपरीत निष्कासन गरेकाे, नीति, निर्णय र निकासका लागि छलफल तथा समस्या समाधानमा चासो नदिएकाे, संघभित्र स्वार्थकेन्द्रित तथा राजनीतिक प्रभाव हाबी भएको अनुभूति भएको, संघको नाम, इज्जत र प्रतिष्ठासँग जोडिएका व्यक्तिहरूलाई बद्नाम गर्ने गतिविधि पटक पटक दोहोऱ्याउने गरेको र संघमा फटाउ, जुधाउ र रमाउको विकृति अध्यक्षबाट नै बढाएकाे लगायत १० बुँदे आराेप लगाएका छन् । 

संघको विधानअनुसार अपेक्षित क्षमता र एकताका साथ काम गर्न कठिन भएको निष्कर्षमा पुगेर यथावत् रहिरहनु भन्दा ताजा जनादेश लिएर नयाँ नेतृत्व तथा कार्यसमिति चयन गर्नु नै संस्थाको हितमा हुने ठहर गर्दै आफूहरूले सामूहिक राजीनामा दिएका महासचिव बस्नेतले बताए ।

उनीहरूले बहुमत पदाधिकारी तथा सदस्यको राजीनामापछि कार्यसमिति अल्पमतमा परेको हुँदा विधानअनुसार संघले प्रभावकारी निर्णय तथा कार्य गर्न नसक्ने अवस्था भएकाले संघको विधानबमोजिम कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको निर्वाचन गठन प्रक्रिया अघि बढाइदिन आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलगायत सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर