२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

संघको ताला खुलाइयो

Nada
२०८३ वैशाख १६ गते ०६:१५
Shares
संघको ताला खुलाइयो

काठमाडौं : राजधानीको सिफलस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा असन्तुष्ट पक्षले लगाएको ताला खोलिएको छ । संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, महासचिव महेशकुमार बस्नेतसहित कार्यसमितिका ११ सदस्यले राजीनामा गरेको घोषणा गरेसँगै सोमबार साँझ केही वैदेशिक रोजगार व्यवसायीले सम्पूर्ण व्यवसायीको तर्फबाट भन्दै संघको कार्यालयमा तालाबन्दी गरेका थिए ।

ncell

उनीहरूले २०८१ चैत २९ गते भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनबाट निर्वाचित कार्यसमितिको बहुमतले राजीनामा दिएकाले वर्तमान कार्यसमिति अल्पमतमा परेको हुँदा अर्को कार्यसमिति चयन नभएसम्म संघको कार्यालयमा ताला लगाई बन्द गरिएको भन्दै कार्यालयको ढोकामा हस्तलिखित सूचना टाँसेका थिए ।

मंगलबार सुरक्षाकर्मीको उपस्थितिमा ताला फोडेर खोलिएको थियो । कार्यसमितिका द्वितीय उपाध्यक्ष देवकुमार खोकालीले ह्याम्मर प्रयोग गरी ताला तोडेका थिए ।

ताला फोडिए पछि संघका अध्यक्ष भुवनसिंह गुरुङले संघ कसैको व्यक्तिगत निवास नभएको भन्दै ताला तोडेर नियमित कामकाज सुरु गरिएको बताए । उनले कार्यसमितिको बहुमत उपस्थितिमा उक्त ताला खोलिएको बताए । मंगलबार दिउँसो सवा ३ बजे ताला खोलिएको थियो ।

संघमा ताला लगाउने र जबरजस्ती गर्ने शैली स्वीकार्य नहुने भन्दै अध्यक्ष गुरुङले बाँकी रहेको कार्यकाल व्यवसायीको पक्षमा काम गर्ने पनि बताए ।

अध्यक्ष गुरुङको कार्यशैलीमा प्रश्न उठाउँदै सोमबार प्रथम उपाध्यक्ष श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिञ्जाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले संघको विधान झिकाएर विवादका विषयमा अध्ययन गरिरहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर