
काठमाडौं : मलेसियाले अवैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारहरूलाई लक्षित गर्दै ल्याएको स्वदेश फिर्ती कार्यक्रम २.० को अवधि एक वर्षभन्दा धेरै समयका लागि विस्तार गरेको छ ।
मलेसिया सरकारले ३० अप्रिल २०२६ मा समाप्त हुने आप्रवासी स्वदेश फिर्ती कार्यक्रम २.० को कार्यान्वयन १ मे २०२६ देखि ३१ मे २०२७ सम्म विस्तार गर्ने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले जनाएको छ ।
उक्त कार्यक्रमको लाभ लिएर ठुलो संख्यामा विदेशी कामदारहरू स्वदेश फर्किरहेको अवस्थालाई मध्यनजर गर्दै समय थप गरिएको हो । अवैधानिक रूपमा बस्दै आएका नेपालीहरूका लागि पनि यो महत्वपूर्ण अवसर भएको बताइएको छ । मलेसियाली अध्यागमन विभागले पछिल्लो निर्णय अघिल्लो कार्यक्रमको कार्यान्वयनको प्रभाव मूल्यांकनका आधारमा गरिएको बताएको छ ।
स्वदेश फिर्ती कार्यक्रमले उच्च संख्यामा दर्ता, निरन्तर स्वेच्छिक स्वदेश फिर्तीलगायतका महत्वपूर्ण उपलब्धिहरू रेकर्ड गरेको र त्यसले मलेसियामा अवैध आप्रवासीको उपस्थिति घटाउन योगदान पुर्याएको बताइएको छ ।
यसअघि १९ मे २०२५ देखि २९ अप्रिल २०२६ घोषणा गरिएको कार्यक्रमले ११२ देशका २ लाख ५४ हजार १ सय ८६ अवैध आप्रवासीको दर्ताहरू रेकर्ड भएको मलेसियाको अध्यागमन विभागले बताएको छ । त्यसबाट मलेसियाले १२७ मिलियन रिंगेट संकलन गरेको छ ।
आप्रवासी स्वदेश फिर्ती कार्यक्रम अध्यागमन कानुन अनुपालनको ढाँचाभित्र लागू गरिएको अवैध आप्रवासीहरूका लागि स्वेच्छिक फिर्ती व्यवस्थापन संयन्त्र भएको र उक्त कार्यक्रममा सहभागीले तोकिएका सर्तहरूको अधीनमा रही जरिवाना छुट पाउने गरेका छन् ।