२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

बुबाको हत्या गरी साहु फसाउने योजना बुन्ने छोरा पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख १७ गते २२:१७
Shares
बुबाको हत्या गरी साहु फसाउने योजना बुन्ने छोरा पक्राउ

 रौतहट : ​जिल्लाको गरुडा नगरपालिका (साविक जयनगर गाविस)मा १८ वर्षअघि भएको एक बीभत्स हत्याकाण्डको रहस्य सुल्झिएको छ । आफ्नै बुबाको हत्या गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले झण्डै दुई दशकपछि चितवनबाट पक्राउ गर्न सफल भएको छ । ​

ncell

वि.सं. २०६४ जेठ २० गते राति करिब १२ बजेको समयमा साविक जयनगर गाविस वडा नं. ४ हाल गरुडा न.पा.–१ बस्ने ६५ वर्षीय विशेश्वर महतो कोइरीको शव हातखुट्टा बाँधिएको र धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको थियो ।

गोठ घरमा सुतिरहेको अवस्थामा भएको उक्त बीभत्स हत्याले तत्कालीन समयमा गाउँभरि त्रास फैलाएको थियो । घटनालगत्तै मृतकका कान्छा छोरा राम विलास महतो स-परिवार फरार भएपछि प्रहरीले उनीमाथि सूक्ष्म निगरानी बढाएको थियो । ​

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार लामो समयको सुक्ष्म अनुसन्धान र खोजीपछि हत्याको कारण निकै योजनाबद्ध र स्वार्थपूर्ण रहेको खुलेको छ । पक्राउ परेका ४९ वर्षीय राम विलास महतोले गाउँका धेरै व्यक्तिहरूसँग ऋण लिएको र जग्गा सम्बन्धी मुद्दाहरू खेपिरहेका थिए । ​

मुद्दा मामिलाको खर्च जुटाउन नसकेको र ऋण तिर्नुपर्ने दबाबमा रहेका महतोले एउटा भयानक योजना बुनेको प्रहरीको निष्कर्ष छ । उनले आफ्नै बुवाको हत्या गरेर त्यसको दोष आफूले ऋण लिएका साहुहरू र जग्गा विवादका विपक्षीहरूलाई थोपर्ने नियत राखेका थिए । यसो गर्दा विपक्षीहरू ज्यान मुद्दामा फस्ने आफूले ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि सुल्झिने दाउ उनको थियो ।

सोही योजना अनुरूप उनले बुवा सुतिरहेको स्थानमा पुगी हातखुट्टा बाँधेर धारिलो हतियारले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । ​घटनापछि नाम र पहिचान लुकाएर विभिन्न स्थानमा बस्दै आएका महतोलाई विशेष सूचनाको आधारमा प्रहरीले मिति २०८३ वैशाख १६ गते चितवन जिल्लाबाट पक्राउ गरेको हो ।

लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएका उनलाई रौतहट ल्याई थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ । ​जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार प्रतिवादीमाथि थप अनुसन्धान भइरहेको छ । पुरानो र जटिल मुद्दा भए तापनि प्रहरीको निरन्तरको प्रयासले सफलता मिलेको उनले बताए । 

सम्बन्धित खबर