
रौतहट : कानुनतः जातीय विभेद र अन्धविश्वासजन्य हिंसालाई दण्डनीय भए पनि रौतहटमा एक दलित महिलामाथि अमानवीय हर्कत भएको छ । जिल्लाको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक ५५ वर्षीया महिलालाई जबर्जस्ती मानव मल–मूत्र खुवाएको घटना सार्वजनिक भएको हो ।
घटना कटहरिया–९को हो । प्रत्यक्षदर्शी र पीडित परिवारका अनुसार, गाउँको एउटा वैवाहिक भोजमा बालक बिरामी परेपछि त्यसको दोषी स्थानीय अंकलियादेवी मुसहरिनमाथि थोपरिएको हो । उनी पूर्ववडा सदस्यसमेत हुन् । पर्साबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालकले बान्ता गरेपछि उपचार गर्नुको साटो अन्धविश्वासको भरमा हिंसा गरिएको हो । अंकलियाले ‘जादु–टुना’ र ‘बोक्सी’ लागेर बालक बिरामी भएको भन्दै स्थानीय केही व्यक्तिहरूले उनीमाथि दुव्र्यवहारको योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पीडितकी छोरी सुमिलादेवी मुसहरिनका अनुसार, शनिबार साँझ करिब ७ बजेको समयमा १५–२० जनाको समूह एक्कासि उनीहरूको घरभित्र प्रवेश गरेको थियो । घरमा आमाछोरी मात्र रहेको अवस्थाको फाइदा उठाउँदै उक्त समूहले अंकलिया देवीलाई कुटपिट मात्र गरेन, बियरको बोतलमा घोलेर ल्याएको मानव मल–मूत्रसमेत जबर्जस्ती खुवाएको थियो । छोरी सुमिलाले आमालाई बचाउन खोज्दा आफूमाथिसमेत निर्घात कुटपिट गरिएको दुःखेसो पोखिन् ।
उक्त अमानवीय हर्कतमा स्थानीय पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर, गौरी साहलगायत एक दर्जनभन्दा बढी व्यक्तिको संलग्न रहेको पीडितले बताएका छन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायव निरीक्षक मोहन आले मगरको नेतृत्वमा खटिएको टोलीले अचेत अवस्थामा रहेकी अंकलिया देवीको उद्धार गरेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र सामान्य उपचारपछि थप जाँचका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले आरोपीमध्ये ३० वर्षीय शंकर माझीबाहेक अरूलाई पक्राउ गर्न सकेको छैन । आरोपित समूहले प्रहरीमाथि नै अवरोध र आक्रमणको प्रयास गरेका थिए । भिडलाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिन सुरक्षा सतर्कता बढाइएको दाबी प्रहरीको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक शंकरप्रसाद आचार्यले घटनालाई निकै गम्भीरतापूर्वक लिएको बताए । उनले मध्यान्हसँग भने, ‘यो मानवताविरोधी जघन्य अपराध हो । अन्धविश्वासका नाममा कसैलाई यसरी अमानवीय व्यवहार गर्ने छुट छैन । घटनामा संलग्न सबैको पहिचान भइसकेको छ र उनीहरूलाई कानुनी कठघरामा उभ्याएर कडाभन्दा कडा कारबाही गरिनेछ ।’ हाल फरार रहेका आरोपीहरूको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरेको आचार्यले बताए ।
मुसहर समुदायमा विवाहको भोलिपल्ट बेहुली पक्षबाट सरियतिया जाने र भोजभतेर गर्ने पुरानो सामाजिक चलन छ । तर, यस्तो उत्सवको माहोलमा घटेको अमानवीय घटनाले समाजमा अझै पनि अन्धविश्वासको जरा कति गहिरोसम्म गढेको छ भन्ने स्पष्ट पारेको छ । स्थानीय अगुवाले यो घटनाले सिंगोसमाजको शिर निहुराएको भन्दै दोषीलाई हदैसम्मको सजाय र पीडितलाई न्यायको माग गरेका छन् ।