
रौतहट : रौतहटमा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । आइतबार सञ्चालन गरिएको उक्त अभियानमा कर्तव्य ज्यान, सवारी ज्यान, बैंकिङ कसुर तथा लागुऔषध मुद्दाका फरार अभियुक्तहरूलाई जिल्लाका अलग–अलग स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–३ का ३९ वर्षीय राम विनय चौधरी पक्राउ परेका छन् । उनीमाथि २०६६ फागुन २६ गते विशाल महतोलाई कुटपिट गरी हत्या गरेको आरोप छ । कुटपिटबाट गम्भीर घाइते भएका महतोको उपचारका क्रममा मृत्यु भएपछि चौधरी फरार रहँदै आएका थिए ।
यसैबीच सवारी ज्यान मुद्दामा फरार रहेका बौधीमाई नगरपालिका–६ का ३६ वर्षीय राम पुकार राय यादव पनि पक्राउ परेका छन् । उनले गत पुस २ गते मौलापुर–मर्यादपुर सडकखण्डमा चलाएको मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय बनारशी राउत कुर्मीको मृत्यु भएको आरोप छ ।
त्यसैगरी बैंकिङ कसुर मुद्दामा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका माधव नारायण नगरपालिका–६ का ४१ वर्षीय जितेन्द्र कुमार जयसवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।
प्रहरीले फैसला कार्यान्वयनतर्फ पनि सक्रियता बढाउँदै लागुऔषध (गाँजा) मुद्दामा सजाय सुनाइएका एक व्यक्तिलाई पक्राउ गरेको छ । रौतहट जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका देवाही गोनाही नगरपालिका–९ का ६५ वर्षीय सिकिन्द्र राय यादवलाई पक्राउ गरी कैद भुक्तान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइनेछ । पक्राउ परेका सबैलाई सम्बन्धित निकायमा बुझाउने तथा थप अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।