२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

आकर्षक रोजगारीको प्रलोभनमा पर्यटक भिसामा कम्बोडिया नजान दूतावासको आग्रह

Nada
२०८३ वैशाख २२ गते ०६:२५
Shares
आकर्षक रोजगारीको प्रलोभनमा पर्यटक भिसामा कम्बोडिया नजान दूतावासको आग्रह

काठमाडौं : थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत अन्य मुलुकमा रोजगारीका लागि नजान आग्रह गरेको छ ।

ncell

कम्बोडिया सरकारले अन्तरदेशीय अपराधका रूपमा परिभाषित अनलाइन स्क्यामिङ नियन्त्रण गर्न गत हप्तादेखि कडा कानुन कार्यान्वयन सुरु गरेको जनाउँदै नेपाली राजदूतावासले कम्बोडियामा ओभरस्टे भई अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने नेपालीलाई तत्काल उक्त देश छाडेर सुरक्षित हुन भनेको छ ।

कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ कारोबार नियन्त्रण गर्न तथा यसमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था नयाँ कानुनमा समेटेको छ । उक्त व्यवस्थालाई हालसम्मकै कडा कानुनी प्रबन्ध भनिएको छ ।

नेपाली राजदूतावास थाइल्यान्डले विशेषगरी पर्यटनको बहानामा कम्बोडिया गई भिसाको अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिक त्यहाँ बसिरहेको र केही नागरिक अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी प्राप्त भएको जनाएको छ ।

दूतावासले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई कम्बोडियाले तीव्र बनाएको उल्लेख गरेको छ । दूतावासले आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न भए तुरुन्त त्यस्तो कार्य बन्द गरी नेपाल फर्कन आग्रह गरेको छ ।

दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानुअघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ ।

समस्यामा परेका नेपालीलाई स्वदेश फर्कन सहजीकरण गर्ने उद्देश्यले कम्बोडियामा रहेका नेपाली नागरिकहरूको तथ्यांक तथा सूचना संकलन गरिरहेको जनाउँदै दूतावासले अनलाइन फाराम भरी सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।

दूतावासले आफ्नो परिवारका सदस्य, आफन्त, नातेदार वा साथीहरूमध्ये कोही कम्बोडियामा श्रम स्वीकृतिबिना पर्यटकीय भिसामा गई लामो समयदेखि बसिरहेको वा कुनै अप्ठ्यारो अवस्थामा परेको भए नेपाली दूतावास, बैंकक वा कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालयमा जानकारी उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

कम्बोडियामा सुदृढ र संरक्षित कम्पाउन्डभित्र अनलाइन स्क्यामरहरूको अखडा रहेका छन् । मुख्यतया नोम पेन्ह, सिहानोकभिल र ओ स्म्याचजस्ता सीमावर्ती सहरहरूमा खोलिएका स्क्याम सेन्टरमा नेपालीसहित हजारौं आप्रवासीहरूलाई उनीहरूको इच्छाविरुद्ध ठगीका योजना कार्यान्वयनमा लगाइएको सुरक्षाकर्मीहरूको भनाइ छ ।

प्रायः सिसिटिभी क्यामेरा र काँडेतारले सुरक्षित गरिएका कोठाहरूमा कम्प्युटर, मोबाइल फोन तथा मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने प्रविधिहरूको विवरण दिने ह्वाइटबोर्डमार्फत ठगी गराउने गरिएको बताइन्छ । लोभमा पारेर लगिएका आप्रवासी कामदार सहजै उम्किन नपाउने गरी भवनभित्र कोठाहरू सञ्चालन गरिएको अपरेसनमा सहभागी कम्बोडियाको सेनाले जनाएको छ ।

यस वर्ष स्क्याम सेन्टरहरूविरुद्ध सयौं अपरेसनहरू गरिएको छ । तर धोखाधडी, क्रिप्टोकरेन्सी वा मनोरञ्जन योजनाहरूमा लगानी गर्न मनाउने सञ्जाल भने पूर्ण रूपमा ध्वस्त नभएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

नक्कली रोजगार प्रस्तावहरूको प्रलोभनमा परी क्यामरुन, युगान्डा र भियतनामजस्ता देशहरूबाट ठुलो संख्यामा कामदार ल्याई उनीहरूको राहदानी जफत गरी यातना वा कुटपिट गरेर मानसिक दबाब दिँदै बिना तलब काममा लगाउने गरिएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर