२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कहिले होला स्तनपान कक्षको व्यवस्था ?

ADV
२०८१ साउन २३ गते ०६:१५
कहिले होला स्तनपान कक्षको व्यवस्था ?

–सिर्जना बस्नेत

प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरूले मनाइरहेका छन् । विश्वका एक सय २० भन्दा बढी देशहरूमा स्तनपान सप्ताहलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ अगस्त देखि ७ अगस्त २०२४) सम्म विश्व स्तनपान सप्ताह मनाइँदैछ । 

वर्ल्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले एकसाथ जीवनको पहिलो छ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापीरूपमा मनाउने गरिएको छ । यो उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूबीच जागरुकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । यस वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ रहेबाट पनि स्तनपानमा सबैको सहयोग र सहभागिता आवश्यकतालाई प्रस्ट हुन्छ । 

सरकारी कार्यालयको मुख्य प्रवेशद्वारमा नै ‘विश्व स्तनपान सप्ताह’ लेखिएको ब्यानर झुन्डिएका छन् । त्यही सरकारी कार्यालयमा सेवा लिन पुगेकी महिलाले काखमा बोकेको दुधे बालकलाई दुध चुसाउन कति सहज वातावरणको व्यवस्थापन गरेका छौं भन्ने चाहिँ कहिल्यै बहसको विषय बनेको पाइँदैन । पंक्तिकार स्वयम् स्तनपान गराउने आमा भएका कारण पनि आमाहरूले आफ्ना बच्चाहरूलाई स्तनपान गराउन भोग्नु परेको सास्तीहरूको नमीठो घटनाहरूको स्वाद चाखेको छु । स्वयम् जस्ता धेरै आमाहरूले आफ्ना सन्तानलाई चाहेर पनि स्तनपान गराउन पाइरहेका छैनन् ।  

केही दिनअघि काखमा नौ महिने छोरी च्यापेर राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा लाइनमा उभिएकी एक महिलाको दुवै स्तनबाट दुध बगेर कुर्ता भिजेको प्रस्ट देखिएको थियो । लाइनमा महिलाहरूको भन्दा पुरुषहरूको संख्या धेरै थियो । उनले बच्चालाई दुध चुसाउन अप्ठ्यारो महसुस गरिरहेकी थिइन् । नजिकै कतै पनि बच्चालाई दुध चुसाउन मिल्ने गोप्य कोठाको व्यवस्था थिएन । 

एकातिर आमाको दुध गानिएर कुर्ता भिजेको थियो भने अर्काेतिर दुधे बालकको घाँटी सुकेर रोइरहेको थियो । लाइनमा उभिएकी महिलाको बच्चा हेरचाह गर्न साथी आएकी अर्की बहिनीले बट्टाको दुध बच्चालाई खुवाउँदै गर्दा आफूले ओढेको सलको फेरले उनले भिजेका स्तन छोपेर उनी लाइनबाटै काखे बच्चाले बोतलमा दुध पिएको हेरिरहिन् । 

यस्तै, अर्को घटनाले पनि पंक्तिकार निकै असजिलो बनायो । अठार महिने छोरालाई साथमा लिएर नगरपालिकामा जग्गाको तिरे तिर्न आएकी एक महिलालाई उसको छोराले कुर्ताको फेर तानेर लाइनबाट बाहिर निस्कन कर गर्दै थियो । १८ महिने बालकलाई सायद आमाले सिकाइएको थियो होला मान्छेहरूको अगाडि दुध खान हुँदैन भनेर । बारम्बार छोरालाई सम्झाउँदा सम्झाउँदै पनि बालक मानिरहेको थिएन । 

बालकको जिद्दी र रुवाइको अगाडि ती महिलाको केही लागेन । उनी लाइनबाट बाहिर निस्किएर धेरैबेर यताउता आँखा डुलाइन । जति आँखा डुलाए पनि उनले बालकलाई दुध चुसाउने गोप्य कोठा वा ठाउँ फेला पार्न सकिनन् । गर्मीको समय अनि बालकको रुवाइले झर्किएर उनले गेटमा टाँगिएको ‘विश्व स्तनपान सप्ताह’ ब्यानरको पछाडिपट्टि छेकिएर बालकलाई दुध चुसाइन् । 

यस्ता प्रतिनिधि घटनाहरू दैनिक आँखाकै अगाडि ठोक्किन आउने पात्रहरूका बाध्यताहरू हुन् । सरकारी कार्यालय, सार्वजनिक जमघट हुने स्थान, पार्क, विद्यालय, होटल रेस्टुरेन्ट तथा पाटी प्यालेसहरूमा समेत स्तनपान कक्षको छुट्टै व्यवस्था नहुँदा दुधे बालकमा आमाहरू बच्चालाई दुध चुसाउन असहज महसुस गर्दछन् । ग्राहकको रुचि र मागलाई ध्यानमा राखेर होटलहरूमा धुम्रपान कक्षको व्यवस्था गर्न ध्यान पुग्ने होटल सञ्चालकहरूले पनि बच्चाका आमा पनि ग्राहक हुन्छन् अनि बच्चालाई दुध चुसाउने गोप्य कोठाको व्यवस्थामा पनि गर्नु पर्दछन् भन्नेमा ध्यान पुगेको छैन । 

कानुनमा स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको रायसल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ । ऐनमा सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ । 

विशेषगरी कामकाजी महिलाहरूले बच्चालाई पूर्ण स्तनपान गराउन नसक्नु अहिलेको मुख्य समस्या हुन पुगेको छ । सुत्केरी बिदा सकिएर कार्यालय फर्किंदा उनको अगाडि कामको थुप्रो थुपारिएको हुन्छ । दिनको एक घण्टा बच्चालाई भेट्ने समय निकाल्न महिला कर्मचारीका लागि निकै मुस्किलको विषय बनेको छ । कार्यालयमा पुरुष कर्मचारीको सङ्ख्याभन्दा महिला कर्मचारीको सङ्ख्या धेरै भए पनि महिनावारी हुँदा, गर्भवती हुँदा वा सुत्केरी भइसकेर बच्चालाई दुध चुसाउने छुट्टै कोठाको व्यवस्था नहुँदा कामकाजी महिलाले बच्चालाई पूर्ण स्तनपान गराउन सकेका छैनन् । प्रत्येक वर्ष उत्सवका रूपमा विश्व स्तनपान सप्ताह’ मनाउनुको मर्म त्यति बेला पूरा हुनेछ, जतिबेला एउटी आमाले बिना सङ्कोच आफ्ना सन्तानहरूलाई सार्वजनिक ठाउँहरूमा छुट्टै कोठामा बसेर स्तनपान गराउन सक्नेछिन् । सरकारी वा निजी कार्यालयको ढोकामा टाँगिएको ब्यानरले मात्रै कुनै अर्थ राख्दैन । 

(लेखक, बालस्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील छन् ।)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise