
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साढे ३ वर्षअघि भएको निर्वाचनमा अध्यक्षमा पराजित भएपछि ओझेलमा परेका डा. ईश्वरबहादुर जिसी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमार्फत उदाएका छन् ।
६ वर्षअघि महासंघमा उद्योग समितिको सदस्यका रूपमा आफ्नो यात्रा सुरु गरेका जिसीले पछिल्ला ३ वर्ष लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध फोरममा सहसभापतिको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । निजी क्षेत्रका उद्यमी व्यवसायीको छाता संस्था महासंघको कार्यकारिणी सदस्यमा उनको विजय वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील अन्य युवा व्यवसायीका लागि एक सफल उदाहरण बनेको छ ।
संघका पूर्वसचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार रहेका जिसी युवा उमेरमै उद्यम तथा रोजगार क्षेत्रमा उल्लेखनीय काम गरेका व्यवसायी हुन् । वैदेशिक रोजगार व्यवसाय छोड्नु अघि उनी ललितपुरस्थित अक्सफोर्ड इन्टरनेसनल प्रा.लि.का सञ्चालक थिए । युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट ‘ग्लोबल लिडरसिप इन बिजनेस म्यानेजमेन्ट’मा मानार्थ विद्यावारिधि (प्रोफेसनल डाक्टर) उपाधि प्राप्त गरेका जिसीले वैदेशिक रोजगार क्षेत्रमा करिब दुई दशक बिताएका छन् ।
डा. जिसी वैदेशिक रोजगार व्यवसायसँगै फच्र्युन हेल्थ केयरका डाइरेक्टर, एचडी इन्डष्ट्रिज प्रा.लि.का चेयरम्यान, सेभेनस्टार डेभलपमेन्ट सेन्टरका संस्थापक अध्यक्ष, नेपाल हिमालयन एग्रिकल्चर एन्ड बी फर्मका अध्यक्ष रहेका थिए भने उनले एचडी होलिडे ट्राभल्स एन्ड टुर्स पनि सञ्चालन गरेका थिए ।
संघको अध्यक्षमा पराजित हुँदा उनी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका साझा उम्मेदवार थिए । प्रचारप्रसार व्यवस्थित भए पनि उनले जित निकाल्न सकेनन् । त्यसबेला प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट राजेन्द्र भण्डारी संघको अध्यक्षमा निर्वाचित भए । भण्डारीले १ सय ९९ मत ल्याउँदा चौथो स्थानमा रहेका जिसीले १ सय २८ मत पाएका थिए । तत्कालीन संयुक्त लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी प्यानलका उम्मेदवार भुवनसिंह गुरुङले १ सय ५७ मत पाएका थिए भने नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवार कुमुद खनालले १ सय ३१ मत प्राप्त गरेका थिए ।
संघको अध्यक्षमा पराजित भएपछि घात–अन्तरघातको विश्लेषण गर्दै जिसीले मध्यान्ह दैनिकसँग भनेका थिए, ‘भगवानले मलाई दलदलबाट बचाए, संघको अध्यक्षमा पराजित हुनु नै मेरा लागि प्रगतिका ढोका खुल्नु हो ।’
अधिकांश व्यवसायीले दोहोरो मापदण्ड अपनाउने गरेका कारण आफू व्यवसायको बाटो नै बदल्ने मनस्थितिमा पुगेको उनको गुनासो छ । उनी साउदी अरेबियामा रहेका बेला ‘साउदी सिन्डिकेट’ खडा गरेको आरोपमा संघका पदाधिकारीको नेतृत्वमा उनको म्यानपावर कम्पनीमा तालाबन्दी गरिएको थियो, जसप्रति उनको चित्त दुखाइ थियो ।