२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

घातक बन्दै विवाहेतर सम्बन्ध

Nada
भावना पाठक
२०८३ वैशाख २४ गते ०६:२०
Shares
घातक बन्दै विवाहेतर सम्बन्ध

काठमाडौं : यही वैशाख ११ गतेदेखि तारकेश्वर– ३, तीनपिप्लेबाट हराइरहेकी सरिता तिवारीको शव शिवपुरी जंगलमा फेला पर्‍यो । २२ गते मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडेको अवस्थामा उनको शव फेला परेको हो । उनी बजार जान्छु भनी ११ गते घरबाट निस्किएकी थिइन् । समयमा घर नफर्किएपछि उनको परिवारले १२ गते प्रहरीमा जाहेरी दिएको थियो ।

ncell

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको हत्या भएको प्रारम्भिक निष्कर्ष छ । तिवारीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले टोखा–२का ३५ वर्षीय अनिल डंगोललाई पक्राउ गरेको छ । पक्राउ परेका डंगोलसँग मृतक सरिताको विवाहेतर सम्बन्ध रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पारिवारिक स्रोतका अनुसार डंगोल र मृतक सरिताका पति शंकर तिवारी मिलनसार साथी हुन् । शंकरसँग भेट हुँदा उनकी पत्नी सरितासँग डंगोलको चिनजान भएको र त्यही चिनजान प्रेममा बदलिएको थियो । शंकर विभिन्न टेलिसिरियलहरूमा अभिनय गर्थे । फुर्सदको समयमा कृषि पेसामा पनि थिए । उनीहरू जितपुर फेदीका बासिन्दा हुन् ।

काममा व्यस्त हुने शंकरले परिवारलाई समय दिन सकिरहेका थिएनन् । यही बेला उनकी पत्नी सरिता र डंगोल एक–अर्काको नजिक भएको हुन सक्ने परिवारको अनुमान छ । सरिता निर्वाचन प्रहरीमा भर्ना भएकी थिइन् । त्यो समयमा पनि घर नआउने, सम्पर्क गर्दा सम्पर्क नहुने र पछि डंगोलकै साथमा देख्न थालेपछि परिवारले एक वर्षदेखिको प्रेम शंकरले गत फागुनमा मात्र थाहा पाएका थिए ।

सम्बन्ध परिवारले थाहा पाएपछि सरिताले डंगोललाई आफूलाई जिम्मा लिन दबाब दिन थालेकी थिइन् । सरिताको दबाब बढ्न थालेपछि डंगोल दिक्क भएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । मृतकका पति शंकरसँग डंगोलको ८–९ वर्षदेखिको मित्रता थियो । उनीहरूबीच आर्थिकदेखि अन्य सबै कुरामा नजिक सम्बन्ध देखिएको प्रहरीले बताएको छ । सरिता हराएपछि परिवारले डंगोललाई सोधपुछ गरेका थिए । उनले आलटाल गरेपछि डंगोल बस्ने टोखा–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको सहयोगमा उनलाई प्रहरीले पक्राउ ग¥यो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।

गएको वर्ष धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि ३३ वर्षीय सहिद अन्सारीको शव भेटियो । उनको पनि विवाहेतर सम्बन्धकै कारण ज्यान गएको हो । अन्सारीलाई उनकी प्रेमिका भनिएकी अनिताकुमारी यादव र उनका श्रीमान् राजकिशोर यादवले मिलेर हत्या गरेका हुन् । कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले कुनै बहाना बनाएर अन्सारीलाई नेपाल बोलाएकी थिइन् । नेपालको आएको मौका छोपी अनिता र उनका श्रीमान्ले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरे । हत्या गरेर फालिएको अवस्थामा उनको शव फेसबुकमा पोस्ट भएपछि मृतककी श्रीमती अजिमा खातुनले फोटो हेरेर सनाखत गरेकी थिइन् । अन्सारीसँगको सम्बन्धले अनिताको परिवारमा मनमुटाव भयो । उनका पतिले प्रेमी अन्सारीलाई नछोडे उसैलाई छाड्ने र सामाजिक रूपमा बेइज्जत गर्ने धम्की दिए । आफ्नो परिवारको इज्जत जोगाउन अन्सारीको हत्या गर्न अनिताले पतिलाई साथ दिइन् ।

अघिल्लो वर्षको माघमा पनि त्यस्तै घटना घट्यो । विवाहेतर सम्बन्धका कारण उत्पन्न घरायसी विवादका कारण आमाछोराको हत्या भएको घटना बारा जिल्लाको हो । मृतककी पत्नी मनितादेवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतोले ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका ३१ वर्षीय छोरा रामईश्वर मण्डलको हत्या गरे । घरमा श्रीमान् हुँदाहुँदै वैदेशिक रोजगारको सिलसिलामा दुबई रहेका धर्मेन्द्र महतोसँग मनितादेवी मण्डलको प्रेम सुरु हुन्छ । यो कुरा घरमा परिवारले थाहा पाएपछि सुरु भएको विवादले दुईजनाको ज्यान जान्छ ।

यी सामान्य र प्रतिनिधि घटनामात्र भए । यस्ता थुप्रै घटना छन्, जुन सार्वजनिक नै हुँदैनन् । पछिल्लो समय विवाहेतर सम्बन्धलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेर्ने गरिन्छ जसले गर्दा सम्बन्ध स्थापित हुन्छ । तर बिस्तारै त्यो सम्बन्ध घातक बन्न पुग्छ । जसले हत्या र आत्महत्या मात्र नभई सामाजिक र मानसिक रूपमा व्यक्तिलाई कमजोर बनाउने गरेको पाइन्छ ।

नेपाली समाजले विवाहेतर सम्बन्धलाई नाजायज मान्छ । यस्तो सम्बन्ध ‘व्यक्तिगत’ भएकाले कानुन यसमा मौन छ ।  अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘विवाह, सम्बन्ध भन्ने कुरा व्यक्तिको निजी कुरा हो, यसमा कानुनभन्दा पनि व्यक्तिमाथि नैतिक प्रश्न उठ्छ ।’ कानुन व्यक्तिको जीवनमा प्रवेश गर्न नहुने र सहमतिका सम्बन्धलाई कानुनले दोषी देखाउन नमिल्ने उनको भनाइ छ ।

यस्तो सम्बन्धलाई कानुनले दोषी देखाउन नमिले पनि त्यसबाट दुर्घटना भइहालेमा भने सजाय हुने व्यवस्था भएको उनी बताउँछन् । ‘सहमतिमा सम्बन्ध बनाउने, पछि मनमुटाव भयो अथवा सामाजिक रूपमा असहज हुने अवस्था आयो भने हत्या, अपहरणजस्ता घटना भएको देखिन्छ,’ उनी भन्छन्, ‘त्यो बेला नेपालको कानुन आकर्षित हुन्छ र कसुरअनुसार सजाय हुने व्यवस्था छ ।’

विवाहेतर सम्बन्धले सामाजिक र पारिवारिक विचलनका साथै सन्तानको भविष्यमाथि पनि प्रत्यक्ष असर पर्ने समाजशास्त्री किरण पन्थी बताउँछिन् । ‘धेरै सन्तानले आफ्नो अभिभावकलाई हिरो ठान्छन्,’ उनी भन्छिन्, ‘त्यही हिरो नै परिवार र समाजका नजरमा गिरेको आफ्ना सन्तानले देख्न सक्दैन, जसका कारण उनीहरू मानसिक रूपमा कमजोर हुन पुग्छन् ।’ आफ्ना अभिभावकले कहिल्यै गल्ती गर्दैनन् भन्ने सोच बोक्ने सन्तानहरू, तिनै अभिभावकका कारण पारिवारिक विचलनपछि आफूलाई एक्लो अनुभव गर्ने उनको धारणा छ ।

विवाहका पछिका प्रायः सम्बन्धहरू शारीरिक आकर्षणका कारण हुने अधिवक्ता दानबहादुर सुनार बताउँछन् । ‘कानुनतः उमेर पुगेका व्यक्तिहरू बीचमा सहमतिमै हुने शारीरिक सम्बन्धलाई पूर्णतः बर्जित गरिएको छैन । तर यसलाई हाम्रो समाजले भने स्वीकृति दिँदैन,’ उनी भन्छन्,  ‘हाम्रो समाजको दृष्टिकोणमा यो अपराध हो । समाजको दृष्टिकोणमा यस्ता गतिविधिहरू अनैतिक र अपाच्य विषय हुन् ।’

मुलुकी देवानी संहितामा रहेको सम्बन्ध विच्छेदसम्बन्धी कानुनी व्यवस्था हेर्दा, पतिले अन्य परस्त्री वा पत्नीले अन्य परपुरुषसँग शारीरिक सम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद गर्न मिल्ने कानुनी आधार छ । यसले पनि हाम्रो समाजमा विवाहपछिको सम्बन्धलाई सामाजिक अपराधकै रूपमा व्याख्या गरिएको मान्न सकिने उनको भनाइ छ ।

विवाहेतर सम्बन्धको अन्त्य प्रायः दुखद् देखिएको सामाजशास्त्री पन्थी बताउँछिन् । हत्या, आत्महत्याजस्ता घटनाले विवाहपछिका सम्बन्ध घातक देखिएको उनको भनाइ छ । विवाहपछिका सम्बन्धमा धोकाधडी र पछि दुर्घटना हुने जोखिम पछिल्लो समय निकै बढेको प्रवक्ता भट्टराई बताउँछन् । सम्बन्धको कुरा प्रहरीसमक्ष त्यति आउँदैन तर अपराध भएर आइसकेपछि कानुनअनुसार कारबाही हुने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर