
रौतहट : रौतहटको सदरमुकाम गौरमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई त्रसित पार्ने र लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार राति गौर नगरपालिका वडा नं. ५ स्थित बीपी चोकमा खेलौना पेस्तोलको प्रयोग गरी स्थानीयलाई डर-त्रास देखाएको आरोपमा परोहा नगरपालिका वडा नं. ४ बस्ने २० वर्षीय शेख जवेर पक्राउ परेका हुन् ।
वैशाख २३ गते राति करिब ९:३० बजेको समयमा बीपी चोकस्थित सार्वजनिक सडकमा हिँडडुल गरिरहेका व्यक्तिहरूलाई जवेरले अवरोध पुर्याएका थिए। मादक पदार्थ सेवन गरेका उनले आफ्नो साथमा रहेको नक्कली (खेलौना) पेस्तोल निकालेर मानिसहरूलाई ताक्दै पैसा माग गर्ने र लुटपाटको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सडकमा एक्कासि हतियार देखाएर धाकधम्की दिन थालेपछि सर्वसाधारणमा भागदौड र त्रास फैलिएको थियो । घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जवेरलाई घटनास्थलबाटै नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले घटनाको पुष्टि गर्दै पक्राउ परेका व्यक्तिमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
मादक पदार्थको नशामा रहेका युवकले खेलौना पेस्तोललाई वास्तविक हतियार जस्तो देखाई सर्वसाधारणलाई त्रसित पारेको र लुटपाटको नियत राखेको पाइएको छ, डीएसपी बस्यालले भन्ने , निजलाई नियन्त्रणमा लिई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।
सार्वजनिक स्थलमा हतियार देखाएर शान्ति सुरक्षामा खलल पुर्याउने र आपराधिक क्रियाकलापमा संलग्न हुने जोकोहीलाई पनि कडा कारबाही गरिने प्रहरीले जनाए । पछिल्लो समय रौतहटमा प्रहरीले सुरक्षा गस्ती र निगरानीमा कडाइ गरेकै कारण यस्ता घटनामा संलग्न व्यक्तिहरू तत्काल पक्राउ पर्न सफल भइरहेका छन् ।