– कुमार काफ्ले
म बिहान पाँच बजे होइन आठ बजे उठेँ । साथीहरूसँग बेलुका गरेको रमाइलोका साथमा पिएको मदिराले अहिलेसम्म टाउको रिङ्ग्याइरहेको थियोे । त्योभन्दा बढ्ता त मलाई ग्लानी महशुस भइरहेको थियोे । मैले अत्यधिक मदिरापान गरेको थिएँ र गोपनीयताको सीमा नाघेर बोल्न मलाई कुनै संकोच लागेको थिएन । म साथीहरूको उक्साहटमा लागेर हो कि मनको पीडा ओकल्न उपयुक्त लागेर हो अलिक बढ्तै खुल्छु त्यस्तो बेला । तर म जब सामान्य अवस्थामा फर्किन्छु अनि पश्चातापको भूमरीमा जल्न थाल्छु । पिएको भोलिपल्ट हरेक बिहान म अबदेखि पिउँदिनँ भनेर मनमनै सोच्छु र आफैंलाई धिक्कार्दै काममा लाग्छु । परन्तु विगत केही वर्षदेखि मेरा अधिकांश साँझ मधुशालामा बित्न थालेका छन् ।
जिन्दगीको धेरै समय गाउँमै बिताए पनि काम विशेषले बेलाबखत राजधानी पनि गइरहन्थें । विगत पाँच छ महिनादेखि मेरो मनमा एउटा कुरा खेलिरहेको थियोे । यता साँहिलीको भट्टीमा तुम्बा तान्नु र शहरका झकिझकाउ रेष्टुरेन्टमा हार्ड ड्रिङ्क गर्नुमा के भिन्नता होला भनेर म कौतुहल थिएँ । अब काठमाडौं जाँदा भने जसरी पनि त्यस्ता आकर्षण रेष्टुरेन्टमा छिर्ने विचार मनमा पलाएको थियोे । त्यसैले गाउँमा खाएको उधारो नतिरी पैसाको जोहो गरेर म राजधानी छिरेको थिएँ ।
केही दिन भेटघाट, गफगाफ र दौडधुपमै व्यस्त भइयो । धनी साथीहरूको संगतले म शहरलाई उनीहरूकै नजरले शालीनतापूर्वक नियालिरहेको थिएँ । काठमाडौं पुगेको छैटौं दिन घाम क्षितिजमा डुबेको एक घण्टा ज्यादा भएको हुँदो हो । म सुन्धाराबाट आरएनएसीको बाटो हुँदै जमलतिर लम्किदैं थिएँ । “ए दाजु यता सुन्नुस् त” म आवाज आएतिर फरक्क फर्किएँ, कारण त्यो स्वरमा त्यस्तो विशेषता थियोे जसको छनक यसै पाइहालिन्छ । ती षोडशीको पहिरन र श्रृङ्गारपटार विशिष्ट खालको थियो पेशा सुहाउँदो । मैले खासै चासो दिइनँ तर, उनी आफ्नो मूल्य घटाउँदै थिइन । मलाई रक्सीको तल्तल् लागेको थियोे त्यसैले उनलाई वेवास्ता गरेर अगाडि बढेँ ।
धेरै अगाडि बढ्दा पनि रक्सी खाने ठाउँ नभेटेपछि मैले हिँडाइको गति अझ तेज पारेँ । मूल सडकबाट भित्र छिरेँ र दाँयातर्फको रेष्टुराँमा पसेँ । चम्किलो कलेजी रङको भित्तो, मधुरो प्रकाश र प्राय टेबलहरू खाली थिए । केही क्षणमा नै टिमिक्क परेको सेतो सर्ट र नीलो मिनिस्कर्ट लगाएकी वेट्रेस अर्डर लिन छेउमा आईन् र मैले भनेअनुसार टिपेर हिँडिन् ।
म सुनौलो रङले भरिएको गिलास अगाडि रेष्टुराँको कुनामा थिएँ र सामान्य औपचारिकता पूरा गरेर ती वेट्रेस सामुन्नेको मेचमा आएर बसिन् । मेरा मातिएका नजर गिलासमा भन्दा उनीतिर सोझिए । उनको शरिरतिर मेरो विशेष ध्यानाकर्षण भयो । नबाँधिएको थलथले कपालमा हल्का चम्किलो रातो मेहन्दी लगाइएको थियोे र त्यो रातको मधुर रङ्गीन प्रकाशमा अनौठो तरिकाले टल्किएको थियोे । रातराता ठीक्कका सपाट गाला, झण्डै अलिक साना आँखा, चुच्चो नपरेको नाक र लवजले उनी मंगोलियन पुर्खाकी सन्तति हुन् भनेर ठम्याउन मलाई कुनै कठिनाइ परेन । त्यो साँझ पिउने र गफ गर्ने दुवै काममा तिनले भरपुर साथ दिईन् । यद्यपि शहरको राम्रै रेष्टुराँमा एउटी नवयुवतीसँग म साथीहरूसँग जसरी खुल्न सकेको थिँइन । अप्रकट रूपमै मनभरि कुरा खेलाइरहेको थिएँ । केही घण्टाअघि टुँडिखेलको बारमा भेटिएकी प्रस्ताव राख्ने केटी र अहिले सामू बसेकी बेराको तुलना गरेँ । निकैबेर बसेँ र निकै रक्सी पिएँ । केही रमाइला र केही अश्लील कुराहरू भए तर, रात बिताउने कुरा न मैले गरेँ न त उसले नै गरिन् ! बरु अघिनैकि केटीले कति सजिलैसँग कुरा गर्दै आफ्नो शरीरको मूल्य निर्धारण गरेकी थिई । बिल तिरेँ र फिर्ता पैसा उसैलाई टिप्स छोडेर बाहिर निस्किएँ ।
आजको रात मेरो बास लैनचौर बस्ने एउटा साथीकोमा निधो भएको र मलाई त्यता जान अबेला हुन लागिसकेको थियोे । मूलसडकमा निस्केपछि मेरो मन साथीको कोठातिर जानै मानिरहेको थिएन । घरि रेष्टुराँकी बेरालाई सम्झन्थेँ त घरि ए दाजु यता सुन्नुस् त भन्ने केटीलाई सम्झन्थेँ ।
रातो रानी फूले झैँ साँझमा,
तिमी फूल्यौ कलेजी माझमा ।
मनको रहर, कान्छीलाई घुमाउने ........
डेनी डेङ्जोम्पाको गीत गुनगुनाउँदै म फेरि रत्नपार्कतिर लागेँ ।
साँझमा बोलाउने केटीलाई धुईंपत्ताल खोजेँ, अहँ भेटिनँ ।
बरु अनेक रूप र रंगका फरक खालका मान्छे भेटेँ । स्वर केटाको तर, शारीरिक बनोट दुरुस्तै केटी ! मेरो छेउमा आएर इत्तरिदैं अश्लील कुरा गर्न थाले । मलाई उनीहरूको व्यवहार ठ्याप्पै मन परेन, आकर्षित हुने त कुरै भएन । मन नपरेर कहाँ सुख पाउनु र ! उनीहरूमध्ये एकले त मेरो शरीरमा कताकता छुन, समाउन पो खोज्छन् बा ! म छक्क पर्दै त्यहाँबाट छिटोछिटो हिँडे, हिँडे के भन्नू भागेँ । अलिक पर पुगेर पुलुक्क पछाडि फर्केर हेरेँ धन्न पछ्याएनन् । मनभरि कुरा खेलाउँदैं म आएकै बाटो फर्किएँ र अघिकै रेष्टुराँमा एक प्याक थपेर रातकी रानीसँग गफिने विचार गरेँ ।
मेरो तन कान्तिपथमा पाइला नाप्दै थियोे तर, मन भने देशका गन्नेमान्यहरूको घरपरिवार र जीवनशैलीमा पुगेर अड्किएको थियोे । राष्ट्रकवि माधव घिमिरेले पत्नी गौरीको वियोगमा खण्डकाव्य नै लेखेर प्रख्यात भए । उनीहरूको अजम्बरी प्रेमले पाएको वाहवाही सेलाउन नपाउँदै बूढाले दोश्री श्रीमती भित्र्याए । त्यसैगरी धरावासी र हरिवंश आचार्यले पनि उमेर ढल्केपछि पुनः विवाह गरे र पहिलो प्रेमलाई लत्याए । म मातेकै तालमा सही ! उनीहरूको व्यवहार देखेर छ छक्क परेको थिएँ । पत्नी वियोगमा दुखी हुने उनीहरू पनि घाउ खाटा बस्न थालेपछि म जसरी यसैगरि सडकमा भौतारिए भौतारिएनन् होला ! अनि पतिको निधनपश्चात त्यही घरमा पत्नीले दोस्रो श्रीमान भित्र्याइन भने घिमिरे, आचार्य र धरावासीहरू के गर्दा हुन् ? के भन्दा हुन् ? म नसाको जोशमा थिएँ तथापि यस्ता घिआध (घिमिरे, आचार्य, धरावासी) प्रवृत्तिप्रति एककिसिमको रोष र घृणा पैदा भइरहेको थियो ।
रेष्टुराँमा नपुग्दै अलि वरबाटै ठम्याएँ, बन्द भइसकेको रहेछ । आफैंलाई अभागी ठानें र धिक्कारेँ । उमेरमै जीवनसंगिनीले साथ छोडेपछि रक्सी निर्विकल्प साथी र सहारा भएको थियोे मेरो । मनको पीर व्यथा हराउँछ भनेर साथीहरूको भनाइमा लागेर म एक नम्बरको पियक्कड भएको थिएँ । यसरी मातेर हिँड्दा पनि ममा यति होस् चाहिँ थियोे, मैले नखानुपर्ने चीज खाएँ !
त्यसपछि म फेरि अघि भेटिएका समलिङ्गीहरूलाई भेट्न हिँडे ।
जे अगाडि छ त्यसलाई लत्याउने र गुमेपछि पुनः त्यसकै प्राप्तिमा लाग्ने मानवीय स्वभाव ममा पनि लागू भयो र म फर्कीफर्की कहिले पेशेवर केटी त कहिले रेष्टुरेन्टकी बेराको खोजीमा भौतारिरहेको थिएँ । झन अहिले त अघि रिस उठेका मान्छेकै खोजीमा हिँड्दै थिएँ ।
त्यता नि अबेला भएछ क्यारे ! कसैलाई भेटिनँ । निराश भएर सडक नाप्दै थिएँ, म त एक्कासि गल्र्याम्म लडें पो !
निकैबेर पछि पछाडिबाट मेरो कुममा कसैले हात राखे झैँ लाग्यो । बिस्तारै उसले मलाई उठायो । भन्नै परेन हात कति नरम थिए ! जस्तो फूल वा कपास हुन्छ । म पछाडि फर्कदाँ सडकमा फैलिएको मधुरो प्रकाशमा एउटी परम् सुन्दरी मन्द मन्द मुस्कुराईरहेकी थिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरा हात समातेर आफूतिर तानिन् । मलाई कताकता डर लागेजस्तो भयो, लाज बढेर आयो र म किंकत्र्यव्यविमूढ भएँ । उनले त मलाई डो¥याएरै कताकता लिएर गइन । केही छिनमा हामी सजावटमा कुनै कमी नभएको सुन्दर कोठामा पुग्यौं । त्यसपछि उनले मेरा कपडा क्रमशः उतारिदिइन्, मलाई विस्तारामा सुताइन् र उनी पनि सुतिन् ।
म बिहान घाम झलमल्ल लागेपछि उठेँ । ज्यान थकाइले चुर भएको थियोे ।
म बिउँझेको देखेपछि विपिन भन्दै थियोे, “हिजो राति मैले तँलाई कहाँकहाँ मात्रै खोजिनँ ! बल्लबल्ल जमलनेर लडिरहेको भेट्टाएँ, छेउमा दुई÷तीन वटा कुकुरहरू पनि सुतिरहेका रहेछन् । त्यसपछि के भयो तँलाई थाहा छ ?”
मैले आँखा मिच्दै भनें, “त्यसपछि मलाई एउटी अप्सरा आई र मुलायम हातले समातेर डो¥याउदै आफ्नो कोठामा लिएर गई ।”
मैले कुरा टुङ्ग्याउन नपाउँदै ऊ मरिमरि हाँस्न थाल्यो । “हाहाहाहाहा.....त्यही भएर पो रहेछ राति तँ मलाई बलजफ्ती करणी गर्न खोज्दै थिइस् ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies