मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : सरकारले आगामी मंसिर ४ गते आमचुनाव घोषणा गरेको भोलिपल्टै निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । सूचना निकालेर आयोगले आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको हो । आयोगका अनुसार ३१ साउनभित्र दर्ता गरिसक्नुपर्नेछ ।
आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दै भनेको छ, ‘श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ ।’ दल दर्ताको निवेदन दिँदा दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन साथमा बुझाउनुपर्नेछ ।
आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेशसभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ । आयोगका अनुसार दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुनेछ ।
यो सँगै निर्वाचन आयोगले चुनावी तालिका अगाडि बढाएको छ । अब आयोगले मतदाता नामावली प्रकाशन, समानुपातिक तर्फको बन्द सूची निर्माण, दलहरुलाई चुनाव चिन्ह प्रदान, उम्मेदवारी दर्ता, मतदान केन्द्र निर्धारण लगायत तालिका सार्वजनिक गर्नेछ । आयोगले सरकारलाई १२० दिनको समय राखेर चुनाव घोषणा गर्न सुझाव दिएको थियो । आयोगले चुनावको मिति समेत प्रस्ताव गरेको थियो ।
तर आयोगले प्रस्ताव गरेअनुसार २ मंसिरमा चुनावको मिति घोषणा भएन । तर सरकारले १०८ दिनको समय मात्रै दिएपछि चुनावी तालिकामा केही हेरफेर हुने देखिन्छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने सरकारले घोषणा गरे बमोजिम चुनाव हुने बताइसकेका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies