२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

दानकै भरमा जीवन गुजारा, सहयोगापेक्षीको पहिचान गर्दै महानगर

Nada
सपना बोहरा
२०८३ वैशाख २५ गते ०६:२०
Shares
दानकै भरमा जीवन गुजारा, सहयोगापेक्षीको पहिचान गर्दै महानगर

काठमाडौं : पशुपतिनाथ मन्दिरको पारिपट्टि बागमती किनारमा प्रत्येक साँझ आरती हुन्छ, ‘हरहर महादेव’को ध्वनि गुन्जिन्छ । मन्दिर परिसरवरपर असहाय, वृद्ध, साधु तथा सडकमा रात बिताउनेहरूको ठुलो जमात छ । उनीहरूको वास्तविकता आरतीको धुनभन्दा निकै पीडादायी छ ।

ncell

मन्दिर आसपास आँखा नदेख्ने, हातखुट्टा चल्न नसक्ने, अशक्त तथा वृद्ध व्यक्तिहरू भिख माग्दै बसिरहेका भेटिन्छन् । बिहानको झिसमिसे उज्यालोदेखि साँझको आरतीसम्म माग्नेहरूको लाम नै देखिन्छ । पशुपतिनाथ कसैले प्रसाद बाँड्छन्, कसैले दान गर्छन् । त्यही दानकै भरमा कतिपयको जीवन चलिरहेको छ । 

आरती हुने किनारमा एक वृद्ध भिख माग्दै बसिरहेका भेटिन्छन् । उनका दुवै घुँडामुनिका भाग छैनन् । उनी राम्रोसँग बोल्न पनि सक्दैनन् । तर बिहानै कसैले उनलाई त्यहाँ ल्याएर छाड्ने गरेको देखिन्छ, भिख माग्नकै लागि ।

कतिपय वृद्धहरू परिवारबाट टाढिएका छन् । ७५ वर्षीया एक महिलाले भनिन्, ‘हातखुट्टा चल्न छाडेपछि परिवारको बोझ भएँ । मन्दिरमा आएर बस्न थालेको वर्षौं भयो । यहीँ खान्छु, यहीँ सुत्छु ।’ दैनिकी मन्दिरमा दर्शन गर्न आउने भक्तजनले दिएको प्रसाद र भेटीका भरमा उनको जीवन धानिएको छ । 

बिहानको समयमा दृष्टिविहीनहरूको समूह नै देखिन्छ । उनीहरू अधिकांश बोल्न चाहँदैनन् । कसैले बोरा थापेर, कसैले भाँडा राखेर मागिरहेका हुन्छन् ।

मन्दिर परिसरमा केही मानसिक समस्यासँग जुधिरहेका व्यक्ति पनि छन् । केही भारतका विभिन्न ठाउँबाट आएका छन् । कोही साधुको नाममा, कोही परिवारको गुजारा चलाउने बहानामा वर्षौंदेखि आश्रित बनेका छन् । बिहानै मन्दिर परिसर पुगेर एउटा कुनामा बसेर हात फैलाउनु उनीहरूको दैनिकी बनेको छ ।

रात पर्दै जाँदा भक्तजनहरूको संख्या घट्छ, तर त्यही मन्दिरको ढुंगालाई सिरानी बनाएर रात काट्नेको संख्या बढ्दै जान्छ । खुला आकाशमुनि निदाउनु उनीहरूको बाध्यता बनेको छ ।

धार्मिक आस्थाको केन्द्र पशुपतिनाथले आध्यात्मिक सन्देश दिइरहेको छ । तर त्यही परिसरमा मानव जीवनका कठोर यथार्थ पनि छरपस्ट देखिन्छन् । सामान्य नागरिकदेखि देशको बागडोर सम्हाल्ने प्रमुख व्यक्तिहरू समेत मन्दिर दर्शन गर्न पुग्छन्, तर सडक छेउमा बस्न बाध्य बालबालिका र वृद्धवृद्धाको पीडा भने ओझेलमै छन् ।

यसैबीच, काठमाडौं महानगरपालिकाले मन्दिर क्षेत्रमा रहेका सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टर पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन तथा सहयोगापेक्षीहरूको अपेक्षाबारे जानकारी लिएकी छन् । ‘हामी काठमाडौंलाई सहयोगापेक्षीमुक्त बनाउन प्रयासरत छौं । काम गर्न सक्ने व्यक्तिले श्रम गरेर जीवनयापन गर्नुपर्छ,’ उनले भनिन्, ‘श्रम गर्न नसक्ने र हेरचाह गर्ने कोही नभएकाहरूका लागि महानगरपालिकाले मानवोचित बसोवासको व्यवस्था गर्नेछ ।’

यो अभियान सफल बनाउन व्यक्ति, परिवार तथा साझेदार संस्थाहरूबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

डंगोलका अनुसार पारिवारिक पुनर्मिलन नै पहिलो लक्ष्य हो । उनले भनिन्, ‘असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो । पारिवारिक अवस्था, सडकमा आउनुको कारण, शारीरिक अवस्था तथा परिवार र सरकारसँगका अपेक्षाबारे जानकारी संकलन गरिरहेका छौं ।’

पशुपति क्षेत्रबाट उद्धार गरिएका सहयोगापेक्षीहरूको अवस्था बुझ्न काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा नं. ८ तिलगंगामा सेन्टर सञ्चालन गरिएको हो ।

पहिलो चरणमा ३६ जनाको उद्धार गरिएको थियो । तीमध्ये ६ जना पर्खाल नाघेर भागे भने २८ जनालाई सेन्टरमै छन् । ६ जना महिला र बाँकी पुरुष छन् । सबैभन्दा ज्येष्ठ व्यक्ति ७८ वर्षका छन् भने सबैभन्दा कान्छो २५ वर्षका छन् । 

मानव सेवा आश्रमका उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार ह्विलचेयर तथा वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको छ । उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखालगायत जिल्लाका रहेका छन् ।

उद्धार गरिएकामध्ये चारजनामा मानसिक समस्या देखिएको छ भने एकजना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् । 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले आवश्यक काम गर्ने बताएका छन् ।

सम्बन्धित खबर