
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नासु मस्राङ्गीले वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेका थिए । अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई उक्त घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा मस्राङ्गीले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने गरेको र मुद्दाको तारेखमा बस्न नपर्ने, मुद्दा चल्ने निर्णय नगराई मिलाइदिने भन्दै रकम असुल गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गर्दै १५ हजार रुपैयाँ बिगो कायम गरेको छ । सोही ऐन बमोजिम उनलाई बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।