
काठमाडौं : पछिल्लो २५ दिनको अवधिमा १०८ वटा चट्याङका घटना भए । त्यसमा १२ जनाको मृत्यु भयो भने ६७ जना घाइते भएका छन् । वर्षायाम सुरु भएसँगै चट्याङका कारण मानवीय क्षतिसँगै पशुचौपाय, घर तथा विद्युतीय संरचनामा समेत क्षति पुगेको छ ।
हिजोआज मेघगर्जनसहित वर्षा हुँदा चट्याङ पर्ने जोखिम धेरै छ । विशेषगरी खेतबारीमा काम गरिरहेका किसान, खुला ठाउँमा रहेका बालबालिका तथा जंगलमा घाँस दाउरा गर्न गएका व्यक्ति तथा पशु चौपायमा चट्याङ पर्ने गरेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, हावाहुरीसहित आएको चट्याङका कारण बर्सेनि सयौंको ज्यान जाने र करोडौंको क्षति हुने गरेको छ ।
हावाहुरी र चट्याङले मानवीय क्षतिसमेत पुर्याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत जानकारी दिन थालेको छ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति शर्माका अनुसार मार्च, अप्रिल र मे महिनालाई प्रि–मनसुन अवधि मानिन्छ । यो अवधिमा स्थानीय स्तरमा बादल विकसित भई गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।
‘सबैभन्दा धेरै असर ग्रामीण भेगमा पर्ने गरेको छ । किनभने ग्रामीण भेगका घरहरू चट्याङ प्रतिरोधात्मक छैनन् । चट्याङले बढी क्षति घरबाहिर गर्छ । त्यसैले खेतबारीमा काम गर्दा ज्यान धेरैको जाने गरेको छ,’ शर्मा भन्छिन् । दिउँसो ३ बजेपछि बढी चट्याङ पर्ने उनी बताउँछिन् । तर, मौसम परिवर्तनका कारण चट्याङमा पनि फेरबदल भएको छ ।
बर्सेनि चट्याङबाट मृत्यु हुनेको संख्या बढ्दो छ । २०८२ सालभरिमा ४२६ चट्याङका घटना भएका छन् । ती घटनामा परेर ४८ जना मृत्यु भयो भने ३१२ जना घाइते भएका छन् । त्यस्तै, २०८१मा ४३६ वटा घटना भए भने ७९ जनाको मृत्यु भयो । ती घटनामा ३२२ जना घाइते भएका थिए ।
चट्याङका मात्रै होइन, हावाहुरीका घटना पनि बढ्दो क्रममा छन् । यही वैशाख १ गतेदेखि २५ गतेसम्म २०२ वटा हावाहुरीका घटना भएका छन् । त्यसमा परी आठजनाले ज्यान गुमाएका छन् भने ३० जना घाइते भएका छन् । त्यस्तै, २०८२मा ४८३ वटा घटना भए, त्यसमा १३ जनाको मृत्यु भयो भने ६३ जना घाइते भए । २०८१मा ३६३ वटा घटना भएका छन् । जसमा सातजनाको मृत्यु र ४३ जना घाइते भएको प्राधिकरणले जनाएको छ । ९५५ परिवार प्रभवित भएका छन् ।
के हो चट्याङ ?
मौसमविद् शर्माका अनुसार, चट्याङ प्राकृतिक प्रक्रिया हो । सूर्यको किरण वायुमण्डलमा ठोकिन्छ । पृथ्वीमा विद्युतीय चार्ज उत्पादन गरिरहेको हुन्छ । त्यसलाई सन्तुलनमा राख्न पनि चट्याङ पर्छ । उनी भन्छिन्, ‘प्रि–मनसुनको समयमा सबैभन्दा धेरै चट्याङ पर्छ । यसले मानवीयसँगै भौतिक क्षति पनि गर्ने गरेको छ ।’
प्रि–मनसुनको समयमा विद्युतीय चार्ज उत्पादन गर्ने बादल जम्मा हुने उनी बताउँछिन् । सामान्यतया चिसो मौसममा चट्याङ पर्दैन । चैतको मध्यदेखि असारसम्म बढी चट्याङको जोखिम रहन्छ ।
चट्याङबाट कसरी बच्ने ?
आकाशमा गडयाङगुडुङ गर्न थालेपछि घरभित्र बस्न सुझाव दिन्छिन्, मौसमविद् शर्मा । रुख वा बिजुलीको तारमुनि नबस्न, पौडी नखेल्न, खेतबारीमा काम नगर्न र सुरक्षित ओत नभेट्दा चट्याङ परे दुवै हातलाई टाउकोमाथि राखी निहुरिएर कुर्कुच्चा जोडेर थचक्क बस्न, फोन, टिभी, कम्प्युटरजस्ता विद्युतीय उपकरण नचलाउन उनको सुझाव छ । चट्याङ पर्ने समयमा सवारीसाधनभित्र बस्दा पनि जोगिन सकिन्छ ।
देशभर पानी कम गर्मी बढी हुने
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने आकलन गरेको छ । विभागको जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुको जलवायु आकलन सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने अर्थात् गर्मी बढ्ने पूर्वानुमान गरेको हो । वर्षाको पूर्वानुमानअनुसार कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा पनि ४५ देखि ५५ प्रतिशत सरदरभन्दा कम पानी पर्ने सम्भावना छ ।
कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने ३५ देखि ४५ प्रतिशत सरदर वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागमा ३५ देखि ४५ प्रतिशत सरदरभन्दा कम वर्षा हुने विभागले जनाएको छ ।
अधिकतम तापक्रमको हकमा देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको भनाइ छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भूभाग, कर्णालीको उत्तरी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमतीको पश्चिमी भूभाग, मधेसको पूर्वी तथा पश्चिमी भूभाग र कोशीको पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । कोशीको मध्य र सुदूरपश्चिमको पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी भूभागमा ४५ देखि ५५ प्रतिशत सरदरभन्दा बढी हुने सम्भावना छ ।
त्यसैगरी, न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी नै हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका उत्तरी भूभाग, मधेसको पूर्वी भूभाग र कोशीको दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, मधेसको मध्य भूभाग र कोशीको मध्य तथा उत्तरी भूभागमा ३५ देखि ४५ प्रतिशत सरदरभन्दा बढी न्यूनतम तापक्रम रहनेछ । देशका बाँकी भूभागमा भने यो सम्भावना ४५ देखि ५५ प्रतिशत छ । तर, तापक्रमको हकमा भने पूर्वानुमानअनुसार नै अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी नै मापन भएको विभागले उल्लेख गरेको छ ।