
ललितपुर : ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ललितपुर महानगरपालिका वडा नं. १४ वडास्तरीय बाल अधिकार समितिद्वारा बालबालिकामा आत्मविश्वास अभिवृद्धिका लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
आइतबार ललितपुरको नखिपोटमा भएको तालिममा ११ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि आत्मरक्षा सम्बन्धी तालिम दिइएको हो ।
नखिपोट खेलकुद मैदानमा आयोजित उक्त तालिम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा बालबालिकालाई आत्मरक्षा, अनुशासन, आत्मविश्वास अभिवृद्धि तथा विपद् वा जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रहने सीपबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको इन्टरनेशनल कराते अर्गनाइजेशन क्योकुसिनकाई नेपालका ब्रान्च प्रमुख दीपक लामाले जानकारी दिए ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महतले बालबालिका राष्ट्रका गौरव भएको उल्लेख गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । उनले बालमैत्री समाज निर्माणका लागि स्थानीय तहले निरन्तर बालकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
त्यसैगरी वडा नं. १४ स्तरीय बाल अधिकार समितिकी संयोजक संगिता अछामीले बालबालिकाको सुरक्षा र आत्मरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।
तालिममा इन्टरनेशनल कराते अर्गनाइजेशन क्योकुसिनकाई नेपालका ब्रान्च प्रमुख दीपक लामा, के.आइ.एफ कुरोदय सेल्फ डिफेन्स मार्शल आट्र्सका ब्रान्च प्रमुख एवं प्रशिक्षक सुरेन्द्र सिंह विष्ट, प्रशिक्षक योजना रेग्मी, आई.के.ओ. क्योकुसिनकाई कराँते डोजो नखिपोटका प्रमुख प्रशिक्षक समिर श्रेष्ठले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी बालबालिकाले आत्मरक्षासम्बन्धी व्यवहारिक अभ्याससँगै शारीरिक तथा मानसिक सशक्तीकरणसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए । प्रशिक्षक समिर श्रेष्ठका अनुसार आगामी दिनमा समेत बालबालिकाको क्षमता विकास र सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना भइरहेको छ ।