२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

हिलाम्मे सडक, जोखिमपूर्ण यात्रा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख २९ गते १९:४१
Shares
हिलाम्मे सडक, जोखिमपूर्ण यात्रा

रौतहट : रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियादेखि लवतना हुँदै औरैया भारतीय सीमा जोड्ने मुख्य सडक लामो समयदेखि जीर्ण अवस्थामा हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । मर्मत अभावमा सडक खाल्डाखुल्डीमा परिणत भएपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

ncell

दैनिक सयौँ सवारीसाधन सञ्चालन हुने उक्त सडक वर्षायाममा हिलाम्मे र सुक्खायाममा धुलाम्मे हुने गरेको स्थानीयको गुनासो छ । सडकभरि ठुला खाल्डा परेका कारण विशेषगरी मोटरसाइकल चालक बढी जोखिममा परेका छन् । स्थानीयका अनुसार सडकको खराब अवस्थाले दैनिकजसो साना दुर्घटना हुने गरेका छन् ।

स्थानीय दीपेन्द्र गुप्ताले सामान्य वर्षामै सडकमा पानी जम्ने समस्या रहेको बताए । सडक बिग्रिएकै कारण एम्बुलेन्स सञ्चालन, विद्यार्थीको आवतजावत तथा किसानलाई कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भइरहेको उनले बताए ।

स्थानीय बद्री गुप्ताका अनुसार कतिपय स्थानमा कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने नालाको उचित व्यवस्थापन नहुँदा वर्षाको पानी सडकमै बग्ने गरेको छ । सडक मर्मतका लागि पटक–पटक माग गरे पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

भारतीय सीमा जोड्ने भएकाले यो सडक व्यापारिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । सीमापार व्यापार, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा प्रशासनिक कामका लागि स्थानीय यही सडकमा निर्भर छन् ।

वर्षायाम नजिकिँदै जाँदा सडकको अवस्था थप बिग्रने चिन्तामा स्थानीयवासी छन् । उनीहरूले तत्काल खाल्डाखुल्डी पुर्ने र सडक स्तरोन्नतिको काम अघि बढाउन स्थानीय प्रशासन र नगरपालिकासँग माग गरेका छन् ।

सम्बन्धित खबर