काठमाडौं : नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अगाडि बढाएको छ । बिहीबार पार्टी मूख्यालय च्यासलमा सचिवालय बैठक राखेर चुनावको तयारी अगाडि बढाएको हो । लामो समयदेखि बैठक नराखेको एमालेले बिहीबार सचिवालय बैठक बोलाएको थियो ।
एकदिन अगाडि मात्रै जानकारी दिएर बोलाइएको बैठकले निर्वाचन परिचालन समिति र घोषणापत्र मस्यौदा निर्माण समिति गठन गरेको छ । निर्वाचन परिचालन समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली आफै बसेका छन् । ओलीको नेतृत्वमा केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकायका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव, विभागका सचिवहरु रहेको निर्वाचन परिचालन समिति गठन भएको छ । यो जम्बो कमिटीले निर्वाचनमा कार्यकर्ता परिचालनको केन्द्रीय नेतृत्व गर्नेछन् ।
मातहतका कमिटीले पनि अब निर्वाचन परिचालन कमिटी गठन गर्नेछ । ‘हामी निर्वाचन केन्द्रीत भएका छौं । अध्यक्ष केपी ओलीकै नेतृत्वमा चुनावमा होमिन्छौं’, प्रवक्ता रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने । उनका अनुसार, घोषणापत्र मस्यौदा समितिको संयोजक पनि अध्यक्ष ओली नै रहेका छन् । समितिमा ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।
यो समितिले आगामी निर्वाचनका निम्ति एमालेको घोषणापत्र निर्माण गर्नेछ । निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा समिति गठन गरेर एमालेले एक्लै चुनावमा होमिएको सन्देश पनि दिएको छ । ०७४ को चुनावमा भने एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेको थियो । त्यसबेला एक महिना मात्रै घोषणापत्र लिएर चुनावमा होमिएको एमाले भने यसपटक झण्डै तीन महिना अगाडि तयारीमा जुटेको छ ।
सरकारले आगामी ४ मंसिरमा चुनावको मिति तय गरेपछि एमालेले तत्काल बैठक राखेर तयारी अगाडि बढाएको हो । सचिवालयले महत्वपूर्ण निर्णय गरिसकेपनि स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि एमालेले राखेको छ । आगामी भदौ ७ मा स्थायी कमिटी, भदौ ९ मा पोलिटब्यूरो र भदौ १० मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यो बैठकमा चुनाव केन्द्रीत छलफल गर्ने एमालेको तयारी छ ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा पनि सत्ता गठबन्धनविरुद्ध एमालेले एक्लै प्रतिश्पर्धा गरेको थियो । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा लडेको एमालेले २०५ स्थानीय तह जितेको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले ३२९, माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले ४ स्थानीय तह जितेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies