
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका–३० बस्ने नवलपरासी पूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् ।
पक्राउ परेकामध्ये शैलेन्द्रले सर्बिया, स्लोभाकियालगायतका देश पठाइदिने भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रुपैयाँ, सुमनाले युएई पठाइदिने भन्दै एक जनाबाट दुई लाख ८२ हजार रुपैयाँ, विकासले स्पेन पठाइदिने भन्दै १० जनाबाट १० लाख रुपैयाँ, बासुदेवले क्यानडा पठाइदिने भन्दै एक जनाबाट सात लाख ५० हजार रुपैयाँ, धनबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख रुपैयाँ र नौमायाले साइप्रस पठाइदिने भन्दै छ लाख चार हजार ५०० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौमायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।