मुना सिलवाल/मध्यान्ह
काठमाडौं, २८ साउन । शान्ति, समृद्धि र दीगो विकासको लागि मानवीय कार्य ‘ह्याप्स’ नामक सामाजिक संस्थाले हाम्रो सुनौलो संसार बालआश्रमलाई सहयोग गरेको छ । संस्थाको पहलमा एनआरएन फ्रान्सका पूर्वअध्यक्ष तथा समाजसेवी इन्जिनियर निर्मल अर्याल र उनकी धर्मपत्नी ज्योति आचार्य अर्यालले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा रहेको बालआश्रमका २० जना बालबालिकाहरूको लागि खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा कागेश्वरी मनोहर नगरपालिका वडा नंं. १ वडा अध्यक्ष मुकुन्दप्रसाद गजुरेल, महिला वातावरण समूहकी सचिव मुना न्यौपाने, समाजसेवी पुस्कर प्याकुरेल, कृष्णप्रसाद अर्याल, दलबहादुर तामाङ, वसन्त थापा, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल ह्याप्सका सचिव ठाकुरप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष गजुरेलले सामाजिक संस्थाहरूको दायित्व र पारदर्शिताबाट मात्रै सहयोगीहरूको मन जित्न सकिने बताए । साथै उनले सामाजिक संस्थाहरुले आर्थिक पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिँदै सामाजिक सेवालाई निरन्तर अगाडि बढाउनुपर्ने बताए ।
एनआरएन फ्रान्सका पूर्वअध्यक्ष तथा समाजसेवी इन्जिनियर अर्यालले आफू प्रवासमा रहेपनि नेपालको माया कहिल्यै नमार्ने बताउँदै नेपालमा छोरी शिक्षा अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । माध्यमिक स्तरमा अध्ययनरत छात्राहरुलाई सहयोग गर्दै आइरहेको समेत उनले जानकारी दिए ।
पाल्पा, प्युठान र गोर्खामा सक्रियताका साथ सञ्चालन भइरहेको अभियान अन्य जिल्लाहरूमा पनि विस्तार गरिने उनको भनाइ थियो ।
त्यस्तै, अर्यालकी धर्मपत्नी ज्योति आचार्य अर्यालले आफ्नो श्रीमान् र ससुरा बुबाको प्रेरणाबाट समाजसेवामा जोडिन पाउँदा खुशी व्यक्त गरिन् । आफ्नो ससुरा बुबाको पहलमा फ्रान्सका दुई सडकमार्गको नाम गोर्खा र पनौती राख्न सफल भएकोसमेत उनले जानकारी दिइन् ।
बालआश्रमकी सञ्चालिका मेनुका कोइरालाले विभिन्न संघसंस्था तथा मनकारी व्यक्तिहरूको सहयोगबाट बालआश्रमको व्यवस्थापन भइरहेको जानकारी दिइन् ।
कार्यक्रममा ह्याप्सका अध्यक्ष कुशल अर्यालले विभिन्न समयमा मानवीय कार्य गरिँदै आएको बताउँदै बालआश्रमका बालकालिकाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । साथै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धतासहित सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies