
काठमाडौं : गत मंसिर २७–२९ मा ११औं महाधिवेशनबाट केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तरसंघर्षको संकेत देखिएको छ । त्यसले संस्थापन र इतर समूहबीच दूरी मात्र बढाएको छैन, सिंगो पार्टीपंक्तिमा उकुसमुकुस बढेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नमिठो हार व्यहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी सुरु भएको हो । २१ फागुनको चुनावबाट एमाले २५ सिटमा खुम्चिएको छ । निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहसको सुरु भएको हो । अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वासपात्रद्वय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू एकठाउँ उभिएका छन् ।
‘तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुला रूपमा भन्छौं,’ कार्यकर्तासँग उपाध्यक्ष विष्णु पौडेलले भन्ने गरेका छन् । दोस्रो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन् । उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन आग्रह गरिसकेका छन् । अघिल्लो शनिबार गुन्डुमै पुगेर उनीहरूले ओलीलाई भेटेका थिए । उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाफ त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन् । ‘ठिक छ, लाग्नुस् । तर पार्टीचाहिँ नफुटाउनुहोला,’ ओलीको भनाइ उृद्धत गर्दै एमाले स्रोतले भन्यो ।
गुन्डुमा पोखरेल र पौडेलले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनीतिक अवस्था, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूबाट बढ्दो दबाबका सम्बन्धमा ओलीलाई ब्रिफिङसहित आफ्नो विचार खुलस्त पारेका थिए । सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताए । ती पदाधिकारीले मध्यान्हसँग भने, ‘पार्टीका उपाध्यक्ष र महासचिवले अध्यक्ष ओलीलाई पार्टी नेतृत्व छाड्न सहज वातावरण बनाउने उपाय के–के हुन सक्छ भनेर छलफल गर्नुभएको छ । यद्यपि ओलीले त्यसलाई गम्भीरतासाथ नलिनुभएको संकेत बुझेका छौं ।’
पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको पटक–पटकको आग्रहपछि ओलीले शनिबार सचिवालय बैठक बोलाएका छन् । निर्वाचनको नतिजा नआइसक्दै ओलीलाई पितृशोक प¥यो । लगत्तै जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रहरीले पक्राउ ग¥यो । हिरासतमै रहेका बेला अस्पताल भर्ना भएका ओली पित्तथैली र हर्नियाको शल्यक्रिया गराएर गुन्डु फर्किए । संक्रमण भएपछि उनी दुई साता भेटघाट कम गरेर आराम गरेर बसे । १४ चैतमा ओली गुन्डुबाट पक्राउ परेपछि कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले एक सातासम्म लगातारजसो सचिवालय बैठक राखे पनि ओली्िबनाको बैठकमा आन्तरिक राजनीति र चुनावी नतिजाको समीक्षा हुन सकेको छैन ।
उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवैजना अप्ठ्यारो अवस्थामा ओलीलाई साथ दिँदै आएका नेता हुन् । उनीहरू नै ओलीको विकल्पको पक्षमा उभिँदा एमालेको आन्तरिक समीकरण र अन्तरसंघर्षसमेत नयाँ मोडमा पुगेको देखिन्छ । तर, ओली नेतृत्व छाड्न तयार छैनन् । ओलीले नेताहरूलाई पार्टी नफुटाउनू भनेर दिएको सन्देशले पनि त्यही संकेत गरेको छ ।
जेनजी आन्दोलनको घटना छानबिनका लागि बनाइएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ । कार्यवाहक अध्यक्षसँगै संसदीय दलको नेता पनि बादललाई नै दिइएको छ । बादलले संसद् र पार्टी भेलामा पटकपटक विवादित अभिव्यक्ति दिँदा पार्टीलाई थप क्षति पुगेको नेताहरूको निष्कर्ष छ । संसद्मा बादलले दिएको नेपाली सेनासम्बन्धी अभिव्यक्ति पार्टी बैठक बसेरै सच्याइएको थियो । चैत २५ गते एमालेको कास्की जिल्ला कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले संसदीय दलको नेताको हैसियतमा संसद्मा आफूले गरेको सम्बोधनले ‘पार्टीभित्र र बाहिरका दुस्मनहरू एक्स्पोज भएको’ भन्दै आक्रोश पोखेका थिए । उनले उपाध्यक्ष पौडेलप्रति कटाक्ष गरेका हुन् ।
बादललाई एकाएक ओलीपछिको वरीयता दिइएपछि उपाध्यक्ष पौडेल असन्तुष्ट छन् । माओवादी पृष्ठभूमिबाट आएका नेतालाई विश्वास पात्रका रूपमा ओलीले अवसर दिन थालेपछि पार्टीभित्र थप असहजता उत्पन्न भएको नेताहरूले बताएका छन् । पार्टीमा विष्णु पौडेल, शंकर पोखरेल, गोकर्ण विष्ट, रघुजी पन्त, योगेश भट्टराईलगायत नेताहरू अहिले नेतृत्व परिर्वनको पक्षमा उभिएका एमाले नेता कर्णबहादुर थापाले बताए । तर ओली पक्षका नेताहरूले त्यसलाई ठाडै अस्वीकार गर्दै आएका छन् ।
एमालेमा नेतृत्व फेर्नको लागि विशेष महाधिवेशनको माग गर्दै केही युवाले हस्ताक्षर अभियान नै चलाएका छन् । युवा नेता कमल जोशीका अनुसार हस्ताक्षर संकलन जारी छ । दुई हजार तीन सय महाधिवेशन प्रतिनिधिमध्ये करिब सात सय प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्दै हस्ताक्षर गरेको जोशीले बताए ।
एमालेमा महाधिवेशनका बेला संस्थापन पक्षले वर्चस्व ७५ प्रतिशत थियो । उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले कित्ता फेर्दा शक्ति सन्तुलत बदलिएको अनुमान छ । यसले अध्यक्ष ओली पार्टी कमिटीमै अल्पमतमा पर्ने खतरा पनि छ । बदलिँदो राजनीतिक अवस्था र एमालेप्रति आमनागरिकको बढ्दो अविश्वासलाई विश्वासमा बदल्न नसक्दा पार्टीको नीति र नेतृत्व नै परिवर्तन गरेर जानुको विकल्प नभएको एमाले नेता कर्ण थापाले बताए । ‘समय, परिस्थिति, बदलिँदो राजनीतिक परिवेश, नयाँ पुस्ताको आह्वान र आमनागरिकले मतबाट दिएको सन्देशसमेतलाई बुझेर अध्यक्षले निर्वाचनलगत्तै विकल्प दिनुपथ्र्यो,’ थापाले भने, ‘तर अध्यक्षले आफू बाँचुन्जेल पार्टी ओगट्ने भन्ने खालको सोच राख्नु गलत हो ।’ पार्टीका पदाधिकारीहरूले समेत पछिल्लोपटक ओलीलाई नेतृत्व छाड्न दबाब दिएको उनले दाबी गरे ।
ओलीले गरेका एकपछि अर्को निर्णयले पार्टी संकटमा पर्दै गएको निष्कर्ष निकालेर उपाध्यक्ष पौडेल र महासचिव पोखरेल मिलेरै पार्टीमा नेतृत्व परिवर्तनको आवाज बलियो बनाउँदै गएको निकटस्थहरूले बताएका छन् । ओलीलाई हरेक जनवर्गीय संगठनले औपचारिक कार्यक्रममा समेत महत्व दिन छाडेका छन् । कुनै समय ओलीको फोटोबिना कुनै कार्यक्रम अघि नबढाउने जनवर्गीय संगठनदेखि पार्टीका विभिन्न संरचनागत संगठनहरूले अहिले हरेक कार्यक्रमको ब्यानरबाट ओलीको फोटो हटाउने गरेका छन् ।
एमाले केन्द्रीय सदस्य समिक बडाल आगामी स्थानीय तथा प्रदेशसभाको चुनावसम्म ओलीकै नेतृत्व लिएर जान नसकिने बताउँछन् । ‘यही नेतृत्व, यही अनुहार लिएर अब हुने स्थानीय र प्रदेशसभा चुनावमा जाँदा फेरि पराजयतिर जाने हो,’ बडालले भने, ‘यही संरचना र पुरानै नेतृत्व लिएर जान अब गाह्रो हुन्छ ।’ सानोतिनो झारा टारेर पार्टी नबन्ने भन्दै उनले सबैले निर्मम समीक्षा गर्नुपर्ने बताए । ‘हाम्रा नीति, कार्यक्रम फेल भएका हुन्, जनताले रुचाएका छैनन्,’ बडालले भने, ‘यसलाई पुनर्विचार गर्नुपर्छ । हाम्राबीचमा अविश्वास पैदा गर्ने, टुटफुट ल्याउने होइन, समग्रमा पार्टीले पुनर्विचार गर्नुपर्छ ।’
उनले पौडेल र पोखरेल मिल्दा पार्टी एकताबद्ध हुने भएकाले भित्री रूपमा दुई नेता मिलेको दाबी गरे । ‘विष्णु पौडेल र शंकर पोखरेल अब ओलीलाई अध्यक्षमा राख्न सकिन्न भन्नेमा एकमत हुनुहुन्छ । त्यसैले उहाँलाई हटाउने वातावरणको खोजीमा हुनुहुन्छ,’ बडालको दाबी छ ।
पार्टीलाई नयाँ ढंगले अघि बढाउन एकाथरी नेताहरूले भने पूर्वराष्ट्रपति विद्या भण्डारीसँग समेत छलफल चलाइसकेका छन् । आफ्ना विश्वासिला नेताहरूको छलफलपश्चात् भण्डारीले गत आइतबार गुन्डु पुगेर ओलीसँग समेत संवाद गरेकी छन् । पित्तथैलीको उपचारपछि आराममा रहेका अध्यक्ष ओलीलाई भेटेर भण्डारीले एमालेको वर्तमान अवस्था, पार्टीभित्र बढ्दो असन्तुष्टि, नेतृत्व संकट र देशको समग्र राजनीतिक परिस्थितिबारे गम्भीर संवाद गरेको उनीनिकट नेताहरूले बताएका छन् । एमाले नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र पछिल्ला राजनीतिक घटनाक्रमबीच भएको ओली–विद्या भेट सामान्य शिष्टाचार भेट मात्रै नभई पार्टीकै पुनर्संरचनाका विषयमा छलफल भएको बताइएको छ ।
ओलीको सचिवालयका अनुसार दुई नेताबीच करिब दुई घण्टा छलफल भएको थियो । भण्डारीले पछिल्लो समय आफू एमालेको विकास र विस्तारमा पुनः सक्रिय हुन चाहेको संकेत लगातार दिँदै आएकी छिन् । यद्यपि उनको सदस्यता अझै निष्क्रिय अवस्थामै छ । अर्कोतर्फ एमालेभित्रकै केही नेताहरू ओलीलाई विश्राम दिएर पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको देखिन्छ । उनीहरूले वैकल्पिक नेतृत्वका रूपमा भण्डारीसँग समेत पटक–पटक छलफल गरिरहेको बताइन्छ । ओलीनिकट नेता राजन भट्टराईले भने पार्टीमा पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामका सन्दर्भमा व्यापक समीक्षा आवश्यक भए पनि पार्टी नेतृत्व फेरेर सबै समस्या समाधान नहुने बताए ।