
रौतहट : कुटपिटको आरोपमा पक्राउ परेका एक जना तेस्रोलिङ्गी व्यक्तिको रिहाइको माग गर्दै बाराको कलैयामा सोमबार उग्र प्रदर्शन भएको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुख्य प्रवेशद्वार अगाडि भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी अर्धनग्न भएर सडकमा उत्रिएपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरीका अनुसार आइतबार भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा एक तेस्रोलिङ्गी व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । उक्त पक्राउ अन्यायपूर्ण भएको दाबी गर्दै तेस्रोलिङ्गी समुदाय र अधिकारकर्मीहरू सोमबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी कार्यालयअगाडि भेला भएका थिए ।
प्रदर्शनकारीहरूले पक्राउ परेकालाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । अवस्था उग्र बन्दै जाँदा प्रहरीले भीडलाई गेटबाट पर सार्ने प्रयास गर्दा केहीबेर धकेलाधकेल र झडपको स्थिति सिर्जना भएको थियो । सो क्रममा केही प्रदर्शनकारीले शरीरको माथिल्लो भागका कपडा फुकालेर अर्धनग्न रूपमा विरोध जनाएका थिए ।
स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको जनाएको छ । निषेधित क्षेत्रमा उग्र गतिविधि गरेको आरोपमा प्रदर्शनस्थलबाट थप तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिमाथि कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको र कुनै दबाबमा मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ । “हामी कानुनी दायराभित्र रहेर अनुसन्धान गरिरहेका छौँ । सडक प्रदर्शनमार्फत प्रक्रियालाई प्रभावित पार्ने प्रयास दुःखद हो,” एक प्रहरी अधिकृतले बताए ।
यस घटनाले कलैया बजार क्षेत्रमा नयाँ बहस पनि निम्त्याएको छ । केही स्थानीय व्यापारीहरूले पछिल्लो समय तेस्रोलिङ्गीको नाममा केही व्यक्तिहरूले जबर्जस्ती चन्दा माग्ने, रकम नदिँदा दुर्व्यवहार गर्ने र सार्वजनिक स्थलमा अशोभनीय गतिविधि गर्ने गरेको गुनासो गरेका छन् ।
“हामी सबैको अधिकारको सम्मान गर्छौँ, तर जबर्जस्ती पैसा माग्ने र नदिँदा लज्जित पार्ने कामले असुरक्षा बढेको छ,” एक व्यापारीले नाम नखुलाउने सर्तमा बताए ।
साँझतिर प्रदर्शनकारीहरू तितरबितर भए पनि कलैयाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै निष्पक्ष अनुसन्धान गरिने र निर्दोष नफस्ने सुनिश्चितता गरिएको छ । साथै, स्थानीय प्रशासनले यस्ता विवादको दीर्घकालीन समाधानका लागि नागरिक समाजसँग समन्वय गर्ने जनाएको छ ।