२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

श्रम मन्त्रालयद्वारा कर्मचारीका लागि १० बुँदे आचारसंहिता जारी

Nada
२०८३ जेठ ५ गते ०६:२०
Shares
श्रम मन्त्रालयद्वारा कर्मचारीका लागि १० बुँदे आचारसंहिता जारी

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारीका लागि १० बुँदे आचारसंहिता जारी गरेको छ । मन्त्रालयको नाम परिवर्तनपछि मन्त्री रामजी यादवले वैशाख ३१ गते स्वीकृत गरी आचारसंहिता जारी गराएका हुन् । 

ncell

मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवं सेवामूलक बनाई समग्र मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन तथा कर्मचारीको आचरण र व्यवहारलाई सदाचारयुक्त, सहयोगी, सेवामुखी, अनुशासित, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिता जारी गरिएकोे मन्त्रालयले बताएको छ ।

मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीका लागि समेत मार्गदर्शनको रूपमा रहने आचारसंहिता मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत निजामती कर्मचारी, अन्य कुनै पनि तरिकाबाट नियुक्त, मनोनीत वा कामकाजमा खटिएका कर्मचारी, सेवा करारमा कार्यरत कर्मचारी, मन्त्रालयमा दरबन्दी भई कुनै विशेष कामका लागि अन्य निकायमा काजमा खटिएका कर्मचारी सबैलाई लागू हुने आचारसंहितामा उल्लेख छ । 

कर्मचारीले आफ्नो जिम्मेवारी निभाउँदा सदाचारिता, निष्पक्षता, व्यावसायिकता, इमानदारिता, उद्देश्यपरकता र जवाफदेही हुनुपर्ने, सेवाग्राहीसँग कुरा गर्दा वा काम गर्दा सम्मानभाव राख्ने, असल व्यवहार गर्ने र उनीहरूको समस्या समाधान गर्न तत्परता देखाउनुपर्ने, पदीय दायित्व निर्वाह गर्ने सिलसिलामा अधिकार प्राप्त अधिकारीसमक्ष बाहेक आफू कार्यरत मन्त्रालय, मातहतका निकाय वा मातहतका पदाधिकारीविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नकारात्मक टिप्पणी गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।  

आफूलाई व्यक्तिगत फाइदा पुर्‍याउने वा अरुलाई बद्नाम गर्ने वा अनावश्यक रूपमा अरुको चरित्र हत्या गर्ने जस्ता व्यवहार गर्ने कार्यमा संलग्न नहुने, कार्यालय, होटल, रेष्टुराँ तथा अन्य सार्वजनिक स्थलमा अस्वाभाविक वा भड्किलो व्यवहारको प्रदर्शन नगर्ने, विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्य गर्दा मितव्ययी र सभ्य व्यवहार प्रदर्शन गर्नुपर्नेलगायतका विषय आचारसंहितामा समेटिएका छन् ।

त्यस्तै व्यक्तिगत लाभ हासिल गर्ने वा अन्य मतलवयुक्त कार्य गर्ने, गराउने वा मन्त्रालयको लाभ प्राप्त गर्ने उद्देश्यले अन्य स्थान वा कसैको निवासमा सेवाग्राही, सेवा प्रदायक भेटघाट नगर्ने, उपहार नलिने, कार्यालयबाट हुने कुनै पनि प्रकारको खरिदमा आफ्नो नजिकको नातेदार तथा स्वार्थ रहेको फर्मलाई दिने गरी अवाञ्छनीय प्रभाव पार्न नहुने र आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरी आफ्नो वा अन्य कुनै व्यक्ति वा संस्थालाई लाभ पुर्‍याउने गरी काम गर्न वा आफ्नो पदीय हैसियत र अधिकारको स्वार्थनिहित काम पनि गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर