२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

खातामा रेमिट्यान्स, बाकसमा शव

Nada
सपना बोहरा
२०८३ जेठ ६ गते ०६:४०
Shares
खातामा रेमिट्यान्स, बाकसमा शव

काठमाडौं : रोमानियामा काम गर्न गएका श्रीमान्को मृत्युको खबर नेपाल सरकार हुँदै परिवारसम्म आइपुग्यो । मृत्युको वास्तविक कारण स्पष्ट नभएपछि श्रीमती कृष्णा तामाङ गुरुङ वैदेशिक रोजगार बोर्डको सचिवालय पुगिन् । सचिवालयले गत वैशाख २ गते अपार्टमेन्टमै आत्महत्या गरेर मृत्यु भएको पुष्टि गर्‍यो ।

ncell

कृष्णा र उनका श्रीमान्ले दुई वर्ष विदेशमा काम गरेर केही रकम बचत गरी व्यवसाय गर्ने योजना बनाएका थिए । यसकारण पनि श्रीमान्ले आत्महत्या गरेको खबर उनले सहजै विश्वास गर्न सकेकी थिइनन् । तर रोजगार बोर्डले नै पुष्टि गरिसकेपछि सानो बच्चा काखी च्यापेर उनी श्रीमान्को शव नेपाल झिकाउने प्रक्रियामा लागिन् । 

यस्तै, बैतडीका मनबहादुर विष्टले साउदी अरबमा काम गर्दाको असह्य गर्मीबारे श्रीमती जानकालीलाई बेला–बेलामा इमोमार्फत सुनाइरहन्थे । नेपालको चिसो हावापानीमा हुर्किएका विष्ट निर्माणसम्बन्धी कामका लागि साउदी पुगेका थिए । उनले साउदीको चर्को गर्मी सहन सकेनन् । गएको दुई महिनामै उनको ‘हार्ट अट्याक’का कारण मृत्यु भएको खबर आयो । 

श्रीमान्को शव नेपाल ल्याउन जानकी वैदेशिक रोजगार बोर्डको सचिवालय पुगिन् र गत चैतमा शव नेपाल झिकाइन् ।

यसरी वैदेशिक रोजगारीका लागि विदेश गएका आफन्तको शव पहिचान गर्न र नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्न दैनिकजसो परिवारजन सचिवालय धाउने गरेका छन् । नेपालबाट श्रम स्वीकृति लिएर खाडी तथा अन्य मुलुक गएका श्रमिकमध्ये औसतमा दैनिक ५–६ जनाको शव बाकसमा फर्किने गरेको छ ।

खाडी मुलुकबाट नेपालमा आउने रेमिट्यान्स मात्र होइन, शवको संख्या पनि उत्तिकै भित्रिरहेको छ । पछिल्लो ९ महिनाको अवधिमा मात्रै १ हजार ५१७ जनाको शव नेपाल ल्याइएको छ । आर्थिक वर्ष २०८१/८२मा १ हजार ५४४ जनाको शव आएको थियो भने २०८०/८१ मा ९२७ जना श्रमिकको शव नेपाल ल्याइएको सचिवालयले जनाएको छ ।

हृदयाघात र आत्महत्याका घटना बढी

सचिवालयका निर्देशक एवं प्रवक्ता भूपेन्द्र सापकोटाका अनुसार वैदेशिक रोजगारीमा गएका अधिकांश श्रमिक बिरामी भएर, हृदयाघात, प्राकृतिक मृत्यु, आत्महत्या तथा सडक दुर्घटनामा परी ज्यान गुमाउने गरेका छन् ।

उनका अनुसार शव ल्याउने क्रममा प्राप्त हुने मेडिकल रिपोर्टमा धेरैजसो ‘बिरामी’ भन्ने उल्लेख हुने गरेको छ । ‘हावापानी नमिल्दा स्वास्थ्य समस्या उत्पन्न भएको हुन सक्छ,’ उनले भने ।

आत्महत्याका घटनासमेत बढ्दो अवस्थामा छन् । सरकारबाट श्रम स्वीकृति लिएर गएका श्रमिकको मात्र तथ्यांक राखिएको उनले बताए । मानसिक तनाव, कामको वातावरण नमिल्नु, अपेक्षाअनुसार आम्दानी नहुनु तथा डिप्रेसन आदिका कारण कतिपय श्रमिकले विदेशमै आत्महत्या गर्ने गरेका छन् ।

बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये गम्भीर रोग लाग्ने, अंगभंग हुने तथा मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

क्यान्सर र किड्नी रोगको जोखिम

श्रम स्वीकृति र स्वास्थ्य परीक्षण गरेर विदेश गएका श्रमिकमध्ये पनि गम्भीर रोग देखिने गरेको छ । बोर्डका अनुसार ४७ जनामा क्यान्सर पुष्टि भएको छ भने १२ जना किड्नीसम्बन्धी समस्या लिएर स्वदेश फर्किएका छन् ।

खाडी मुलुकमा कार्यरत नेपालीमध्ये रोजगारीकै क्रममा अंगभंग भएका ७६२ जनालाई बोर्डले आर्थिक सहायता उपलब्ध गराउँदै आएको जनाएको छ ।

मलेसिया र साउदीबाट बढी शव

बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै श्रमिकको शव मलेसियाबाट आउने गरेको छ । गत आर्थिक वर्ष २०८१/८२मा मलेसियाबाट ३९४, साउदी अरबबाट ३३५, युएईबाट ३११, कतारबाट २५२, कुवेतबाट ८४, बहाराइनबाट २५, रोमानियाबाट २४, ओमानबाट १५, रिपब्लिक कोरियाबाट १९, क्रोएसियाबाट १४, जापानबाट १३, भियतनामबाट ३ तथा युगान्डाबाट २ जनाको शव नेपाल ल्याइएको थियो ।

प्रद्येशगत आधारमा मधेशका सबैभन्दा धेरै श्रमिकको शव आएको बोर्डले जनाएको छ । मधेश प्रदेशका ३९६, लुम्बिनीका ३५१, कोशीका ३४६, गण्डकीका १८७, बागमतीका १८६, कर्णालीका ४५ र सुदूरपश्चिमका ३३ जना श्रमिकको शव विदेशबाट ल्याइएको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३को पछिल्लो पाँच महिनामा मात्रै ३ लाख ३९ हजारभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । आर्थिक वर्ष २०८१/८२मा कुल ८ लाख ३९ हजार २७० नेपाली युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । तीमध्ये ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर