
उदयपुर : उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । सोमबार कटारी नगरपालिका-२ गिद्वबर स्थित भित्री सडकखण्डमा सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको स्कुल बस विद्यार्थी लिन कटारी नगरपालिका १ बेलसोततर्फ जाँदै गरेको अवस्थामा अचानक बसबाट खस्दा सह–चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत्यु हुनेमा कटारी नगरपालिका २ बस्ने अन्दाजी ३१ वर्षीय उत्तम थापा रहेका छन् । गुडिरहेको बसको ढोकाबाट अचानक खस्दा उनको शरीरको विभिन्न भागमा चोटपटक लागि घाइते भइ तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीको अनुसार बस र बस चालक कटारी नगरपालिका २ बस्ने ४८ वर्षीय छत्र बहादुर कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
मृतक शवको आवश्यक कानूनी प्रक्रिया गरी प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको छ ।