
लोकउक्तिमा ‘सूर्यलाई पनि ग्रहण लाग्दछ’ भन्ने गरिन्छ । भलै यसको वैज्ञानिक तर्क फरक छ । ‘सूर्यलाई त ग्रहण लाग्दछ’ भन्नुको अर्थ मानिस, समाज र संघसंस्था आदिमा कमीकमजोरी हुनु अस्वाभाविक होइन भन्ने हो । सबैमा कमीकमजोरी हुन्छन् । सचेत मानिसले आफू र आफ्नो कार्यक्षेत्रमा रहेका कमी कमजोरीलाई पहिचान गरी सुधारको बाटोमा अघि बढ्नुपर्दछ । रचनात्मक आलोचनालाई सकारात्मक रूपमा लिन सकिएन भने मानिस परिपक्व हुन सक्दैन । यस सन्दर्भमा अमेरिकन दार्शनिक जोन डिवेले ‘असफलता शिक्षाप्रद हुन्छ, सोच्ने मानिसले आफ्ना कमजोरीबाट धेरै सिक्छ’ भनेका छन् । असफलतालाई सिकाइको माध्यम मानी मानिसले आफ्ना गल्तीबाट पाठ सिकेर अगाडि बढ्न सके मात्र गन्तव्यमा पुग्न सकिन्छ ।
लोकतान्त्रिक समाजमा नागरिकले बोल्ने, मनमा लागेका कुरा अभिव्यक्त गर्ने स्वतन्त्रता पाएका हुन्छन् । लोकतान्त्रिक समाजमा विशेषगरी राज्यका कार्यशैलीप्रति चित्त नबुझेमा प्रश्न गर्ने, कमी कमजोरी देखाउने, खबरदारी गर्नेजस्ता कार्य नागरिकको मौलिक अधिकारको विषय हो । तर, हाम्रो समाजमा आलोचनाका नाममा विरोध, अपमान र दुस्मनीका रूपमा प्रयोग भएको पाइन्छ । यस्तो क्रियाकलाप लोकतान्त्रिक अभ्यास होइन । स्वस्थ आलोचना लोकतन्त्रको ऐना हो । रचनात्मक आलोचनाले आलोचितलाई सुध्रने मार्ग सिर्जना गर्दछ ।
दार्शनिक सुकरातले ‘आत्मपरीक्षणविहीन जीवन बाँच्नयोग्य हुँदैन’ भनेका छन् । सुकरातको यो भनाइले मानिसलाई बाहिरी चमकभन्दा भित्री चेतना र विवेकलाई महत्व दिन्छ । मानिसले आफूले गरिरहेका काम तथा व्यवहारको बारेमा बेलाबेलामा गम्भीर भएर सोच्नुपर्दछ । ‘के गरिरहेको छु ? किन गरिरहेको छु ? यस कार्यले समाज र मानवताका लागि कस्तो असर पारिरहेको छ ?’ भन्नेबारे सोचविचार गर्ने र सत्यतथ्यलाई स्वीकार गर्ने विवेक नै आत्मपरीक्षण हो । मानिसको जीवनमा आत्मपरीक्षण नै नैतिकताको आधार हो । आत्मविकासको मार्ग हो । लक्ष्यप्राप्तिको सही दिशानिर्देशन हो । यसर्थ आलोचनाबाट भाग्ने होइन, बरु आत्मसुधारको अवसरका रूपमा ग्रहण गरेर कमी कमजोरी हटाउने काम गर्नु नै सफलताको बाटो हो ।
अहिले नेपाली समाजमा राजनीति, शासक, प्रशासकलगायत क्षेत्रमा आलोचना व्याप्त छ । बेलायती राजनेता तथा लेखक विन्सटन चर्चिलका शब्दमा, ‘आलोचना सुखद नहुन सक्छ, तर आवश्यक हुन्छ’ भन्ने छ । समाजमा हुने गरेका व्यक्तिगत तथा संस्थागत टीका, टिप्पणी, आलोचनाजस्ता कुरालाई केवल विरोधको स्वर मात्र ठानेर अस्वीकार गर्ने हो भने सुधारको अवसर बन्द हुन्छ । चर्चिलले ‘आलोचनाले शरीरको पीडाले जस्तै अस्वस्थ अवस्थातर्फ ध्यान आकर्षित गर्दछ’ पनि भनेका छन् । यसको अर्थ आलोचनाको आवाजले कमीकमजोरीप्रति ध्यान आकर्षित गर्दछ भन्ने हो । सार्वजनिक नेतृत्वमा बस्ने व्यक्तिले आलोचनालाई ‘हात्ती हिँड्दै गर्छ, कुकुर भुक्दै गर्छ’ भन्ने लोकोक्तिसँग चरितार्थ गर्नुहुँदैन ।
आत्मसमीक्षा गरेर सुधारको बाटोमा हिँड्नु नै सफलताको मार्ग पहिल्याउनु हो । जब नेतृत्वले आलोचनालाई द्वन्द्व होइन, सुधारको माध्यमका रूपमा बुझ्न थाल्दछ, तब ऊ सत्यतथ्यको नजिक पुग्न सक्दछ । स्वस्थ आलोचनाले समाजलाई पनि सचेत र परिपक्व बनाउन सक्दछ । तर बिडम्बना ! हाम्रो समाजमा स्वस्थ आलोचनाभन्दा बढी गाली, गलौज, अश्लील शब्द प्रहारजस्ता क्रियाकलाप भइरहेका छन् । एकातिर समाजमा स्वस्थ आलोचना भएको पाइँदैन भने अर्कोतिर आलोचनाले न त राजनीतिक नेतृत्वमा सकारात्मक परिवर्तन आएको देखिन्छ, न त समाजका अन्य क्षेत्रमा ।
आलोचना र गालीगलौज फरक कुरा हुन् । जहाँ कमीकमजोरी हुन्छ, त्यहाँ सुधारको आवश्यकता रहन्छ । स्वस्थ र रचनात्मक आलोचनाले व्यक्ति वा संस्थालाई बिगार्ने होइन, सुधार्ने अवसर सिर्जना गर्दछ । भारतका राष्ट्रपिता महात्मा गान्धीका शब्दमा, ‘इमानदार असहमति प्रायः प्रगतिका संकेत हुन्’ भन्ने छ । आलोचनालाई धैर्यपूर्वक सुन्न, आत्मसमीक्षा गर्न र सुधारको अवसरका रूपमा ग्रहण गर्न सक्ने व्यक्तिले मात्र आफूलाई समयानुकूल बनाउन सक्दछ । कार्यशैली र सोचलाई बदल्न सक्दछ ।
हाम्रो देशको राजनीतिक अभ्यासलाई हेर्दा, आलोचनाबाट आएका विचार वा सत्यलाई स्विकार्नुभन्दा ‘मेरा गोरुका बाह्रै टक्का’को शैलीमा आफ्ना कमीकमजोरीलाई ढाकछोप गरेको पाइन्छ । बरु राजनीतिक वा अन्य कुनै पनि क्षेत्रका व्यक्ति तथा व्यक्तित्वका बारेमा समाजमा आलोचना भएमा पत्रकार सम्मेलन वा सामाजिक सञ्जालको माध्यमबाट आफूले गरेका कार्यहरू बेठीक नभएको पुष्टि गर्ने अभ्यास भइरहेको छ । पछिल्लो समयमा आलोचनालाई खण्डन गर्न सामाजिक सञ्जालको प्रयोग भएको पाइन्छ ।
त्यसो त समाजमा प्राचीन कालदेखि नै विचार, स्वार्थ, शक्ति, धर्म, सम्पत्ति, अधिकारलगायत क्षेत्रमा मतभेद रहँदै आएको देखिन्छ । आजको समाज पनि आलोचना र द्वन्द्वबाट मुक्त छैन । राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, पारिवारिक तनाव, सामाजिक विभाजनलगायत विषय सामाजिक सञ्जालका माध्यममा व्यापक रूपमा आएको देखिन्छ । समाजलाई प्रविधिले जोडेको भए तापनि भावनात्मक रूपमा टाढिँदै गएको अनुभूति बढ्दै गएको पाइन्छ ।
अहिलेको समय सूचना, सञ्चार, इन्टरनेट, कम्प्युटर, स्मार्टफोन, कृत्रिम बौद्धिकता (एआई)जस्ता सामाजिक सञ्जालले मानिसको मस्तिष्कलाई आकर्षित गरिरहेको छ । समाजले अहिलेको डिजिटल युगलाई अवसर र चुनौती दुवैका रूपमा स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन । अमेरिकी समाजशास्त्री सेरी टर्कलले ‘सञ्चारका माध्यमले हामी जोडिएका छौं, तर भित्रभित्रै एक्लिएका पनि छौं’ भनेका छन् । उनको भनाइलाई आधार मानेर हेर्दा सूचना र सञ्चारले आज भूगोलका हरेक क्षेत्रमा बस्ने मानिसलाई जोडेको छ । नीमेषभरमै भेटघाट, कुराकानी, विचारविमर्श गर्न सहज छ, तर डिजिटल सञ्जालले मानिसलाई जोड्ने काम मात्र गरेको छैन, सामाजिक संवाद र सम्बन्धहरू बिगार्ने काम पनि गरेको छ ।
आलोचना अनावश्यक अभ्यास होइन, बरु यसले ऐनाको रूपमा काम गर्दछ । जहाँ प्रश्न उठ्छन्, त्यहाँ सुधारको सम्भावना रहन्छ । सामाजिक सञ्जालबाट आएका आलोचना, विरोध र असन्तुष्टिलाई व्यक्ति होस् वा संस्था, शासक होस् वा प्रशासक, सामाजिक अभियन्ता होस् वा समाज सुधारक, लेखक, पत्रकार, बुद्धिजीवी सबैले विरोधको रूपमा मात्र हेर्नुहुँदैन । बरु मार्गनिर्देशकका रूपमा स्वीकार गरेर आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अग्रसर हुनुपर्दछ । क्यानडाका सञ्चारविद् मार्सल म्याक्लुहानले ‘सञ्चारको माध्यम स्वयं नै सन्देश बन्छ’ भनेका छन् । तर हाम्रो देशको सन्दर्भमा सञ्चार माध्यम सत्यतथ्यको आधारमा भन्दा राजनीतिक आस्था, आग्रह, पूर्वाग्रह, पक्ष तथा विपक्षका आधारमा सन्देश प्रवाह गर्ने भएकाले मार्सलले भनेजस्तो सञ्चारमाध्यमले सन्देश त दिएका छन्, तर सन्देशको विश्वसनीयतामा सचेत हुन आवश्यक देखिन्छ ।
अहिले समाज डिजिटल युगमा अभ्यस्त छ । सामाजिक सञ्जाल समाजको ऐना बनिरहेको छ । नेपालको ठुलो जनसंख्या इन्टरनेटको पहुँचमा छ । मानिसका हातमा स्मार्ट मोबाइल छ । सामाजिक सञ्जालमा आउने गरेका मिथ्या सूचनाका आधारमा जिब्रो र मस्तिष्क चलाउनेको संख्या ठुलो छ । इमानदार नेतृत्व र सत्यतथ्यका आधारमा मस्तिष्क चलाउने समाज आजको आवश्यकता हो ।
सामाजिक सञ्जालमा राजनीतिक दल, नेता विशेष, शासक, प्रशासक, सामाजिक अभियन्तालगायतबारे तीखो टीका–टिप्पणी हुने गरेको पाइन्छ । वास्तवमा स्वस्थ आलोचनाले हाम्रो व्यवहार, कार्यशैली र निर्णयमा रहेका कमी–कमजोरीको उजागर गरिरहेका हुन्छन् । सत्ताको शक्तिले मात्तिने र आलोचनाले आत्तिनेहरू लोकतन्त्रमा सफल नायक बन्न सक्दैनन् । आफू सधैं सही छु भन्ने अहंकारले व्यक्ति, समाज र नेतृत्वकर्तालाई सिकाइ र सुधारको बाटोबाट टाढा पुर्याउँछ । यसको नतिजा असफलताको विन्दुमा पुगेर टुंगिन्छ । त्यसैले आलोचनालाई आत्मसुधारको अवसरका रूपमा स्वीकार गर्नुपर्दछ ।