२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

मिमबाट उठेको प्रश्न

Nada
गिरीश उपाध्याय
२०८३ जेठ १४ गते ०६:००
Shares
मिमबाट उठेको प्रश्न

भारतमा ‘कक्रोच जनता पार्टी’को चर्चा केवल एउटा न्यायिक टिप्पणीमाथिको भावनात्मक प्रतिक्रिया मात्र होइन, यो आजको सामाजिक सञ्जाल, जनसञ्चार र युवा मनोविज्ञानको बदलिँदो स्वरूप बुझ्ने महत्वपूर्ण संकेत पनि हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्त शर्माको एउटा टिप्पणीलाई बेरोजगार युवा, सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडियासँग सम्बन्धित व्यक्तिहरूमाथिको अपमानका रूपमा लिइएपछि यो डिजिटल अभियान सुरु भएको थियो । पछि उक्त अभिव्यक्तिबारे स्पष्टीकरण आए पनि ‘कक्रोच’ शब्द तबसम्म सामाजिक सञ्जालमा प्रतिरोधको प्रतीक बनिसकेको थियो ।

यस घटनाको सबैभन्दा रोचक पक्ष के हो भने युवाहरूले अपमानका रूपमा बुझिएको शब्दलाई नै व्यंग्य र प्रतिरोधको भाषामा रूपान्तरण गरे । ‘कक्रोच जनता पार्टी’ले आफूलाई ‘आलसी र बेरोजगारको आवाज’जस्ता व्यंग्यात्मक नारासहित प्रस्तुत ग¥यो । सतहमा हास्यास्पद देखिए पनि यसको भित्री तहमा बेरोजगारी, महँगी, असुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिनिधित्वजस्ता गम्भीर प्रश्नहरू छन् ।

यो प्रसंगले जनसञ्चारको पुरानो ढाँचा पनि परिवर्तन भएको देखाउँछ । पहिले राजनीतिक दल, मिडिया वा सत्ताले सार्वजनिक बहसको दिशा तय गर्थे, तर अहिले एउटा मिम, ह्यासट्याग, रिल वा छोटो भिडियोले राष्ट्रिय बहसको केन्द्र बदल्न सक्छ भन्ने देखाएको छ । सामाजिक सञ्जालले सामान्य नागरिकलाई केवल दर्शक होइन, बहसको सक्रिय सहभागी सदस्य बनाएको छ ।

‘कक्रोच’ शब्दको उल्टो प्रयोग विशेष रूपमा अध्ययनयोग्य छ । नयाँ पुस्ताले अपमानजनक प्रतीकलाई नै आन्दोलनकारी पहिचानमा बदल्ने शैली अपनाइरहेको छ । पहिले आन्दोलनका माध्यम पोस्टर, पर्चा र जनसभा थिए भने अहिले मिम, एक्स पोस्ट, इन्स्टाग्राम रिल्स र डिजिटल सदस्यता नयाँ राजनीतिक उपकरण बनेका छन् ।

तर यो शक्तिसँगै जोखिम पनि बढेको छ । प्रहरी र साइबर सेलले यस अभियानको नाममा नक्कली सदस्यता लिंक र फिसिङ सन्देश फैलिएको चेतावनी दिएका छन् । यसले के देखाउँछ भने कुनै पनि भाइरल भावनात्मक लहर साइबर ठगी, डाटा चोरी र गलत सूचनाको माध्यम पनि बन्न सक्छ ।

‘कक्रोच जनता पार्टी’लाई प्रत्यक्ष राजनीतिक क्रान्ति भन्नु अतिशयोक्ति हुन सक्छ, तर यसलाई जेनजीको बेचैनी र असन्तोषको प्रतीकात्मक अभिव्यक्तिका रूपमा भने बुझ्न सकिन्छ । जेनजी त्यो पुस्ता हो, जो इन्टरनेट, मोबाइल र मिम संस्कृति प्रतिक्रियासँगै हुर्किएको छ । यो पुस्ता लामो वैचारिक भाषणभन्दा छोटा, तिखा र प्रतीकात्मक सन्देशसँग बढी जोडिन्छ ।

विश्वका विभिन्न देशमा पछिल्ला वर्षहरूमा यस्तै युवा–केन्द्रित आन्दोलनहरू देखिएका छन् । बंगलादेशमा विद्यार्थी आन्दोलन कोटा प्रणालीविरुद्ध सुरु भएर व्यापक राजनीतिक असन्तोषमा बदलियो । श्रीलंकाको ‘अरगलया’ आन्दोलन आर्थिक संकट र भ्रष्टाचारविरुद्ध जनआक्रोशको प्रतीक बन्यो । नेपालमा पनि सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा युवाहरू सडकमा उत्रिएका थिए । यी सबै उदाहरणले एउटा कुरा स्पष्ट गर्छन्– सामाजिक सञ्जाल आफैं क्रान्ति होइन, तर यसले पहिलेदेखि रहेको असन्तोषलाई भाषा, गति र दृश्यता दिन्छ ।

भारतको अवस्था भने यी देशहरूसँग पूर्ण रूपमा तुलना गर्न मिल्दैन । भारतको लोकतन्त्र विशाल, संस्थागत र बहुस्तरीय छ । यहाँ निर्वाचन प्रणाली, न्यायपालिका, सञ्चारमाध्यम र नागरिक समाजका विभिन्न संरचना सक्रिय छन् । त्यसैले कुनै डिजिटल अभियानलाई सिधै राजनीतिक संकटको संकेत मान्नु उचित हुँदैन । तर, यसले युवाहरू सम्मान, अवसर, रोजगार र अभिव्यक्तिका प्रश्नमा बढी संवेदनशील बन्दै गएको संकेत भने अवश्य दिन्छ ।

यस अभियानलाई लिएर केही राजनीतिक वृत्तमा विदेशी प्रभाव वा संगठित डिजिटल हस्तक्षेपको आशंका पनि व्यक्त गरिएको छ । सामाजिक सञ्जालमा विदेशी फलोअर्स हुनु मात्रै षड्यन्त्रको प्रमाण हुँदैन । एल्गोरिदम, ट्रेन्डिङ विषय, व्यंग्य र राजनीतिक जिज्ञासाका कारण पनि बाहिरबाट मानिस जोडिन सक्छन् । तर यदि बोट नेटवर्क, नक्कली आर्थिक कारोबार वा हिंसात्मक उक्साहटजस्ता प्रमाण भेटिए भने अनुसन्धान आवश्यक हुन्छ ।

यहाँ सबैभन्दा महत्वपूर्ण कुरा युवाको वास्तविक असन्तोषलाई बुझ्नु हो । बेरोजगारी, महँगी, अवसरको अभाव र संस्थागत भाषाप्रतिको असन्तोषलाई केवल ‘ट्रोल संस्कृति’ भनेर खारेज गर्नु लोकतान्त्रिक दृष्टिले उचित हुँदैन । आजको युवा व्यंग्य, मिम र डिजिटल भाषामार्फत आफ्नो असन्तोष व्यक्त गरिरहेको छ ।

सामाजिक सञ्जालले नागरिकलाई बोल्ने शक्ति दिएको छ, तर सत्यपनको जिम्मेवारी पनि थपेको छ । यसले लोकतान्त्रिक संवादलाई विस्तार गरेको छ, तर अफवाह, भावनात्मक भिड र साइबर अपराधका जोखिम पनि बढाएको छ । त्यसैले ‘कक्रोच जनता पार्टी’लाई न त तत्काल राष्ट्रविरोधी अभियान भन्नुपर्छ, न त केवल हास्य ट्रेन्ड मानेर बेवास्ता गर्नुपर्छ ।

वास्तवमा यो प्रसंग एउटा दर्पण हो, जसमा युवा पुस्ताको आक्रोश, व्यंग्य, अविश्वास र संवादको चाहना एकसाथ देखिन्छ । यसको उत्तर दमन वा उपहास होइन, संवाद, संवेदनशीलता र जिम्मेवार लोकतान्त्रिक व्यवहार हुनुपर्छ ।

अमर उजालाबाट अनुवादित

सम्बन्धित खबर