
नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाकी एक किसानको एक महिनाको अवधिमा ९ वटा भैंसी हराएको छ । डुडुवा गाउँपालिका–५ की ब्रह्मादेवी यादवको दुई पटक गरी ९ वटा भैंसी हराएपछि अहिले गोठ रित्तो मात्रै भएको छैन, घर खर्च चलाउन आफन्तसँग सहयोग लिन बाध्य भएकी छिन् ।
‘गत चैत १५ गते ५ वटा र वैशाख ११ गते थप ४ वटा भैंसी चर्न पठाएपछि गोठ फर्किएनन्’, किसान यादव भन्छिन्, ‘कसले भैंसी लगिदियो अहिलेसम्म पत्तो लागेको छैन ।’
ब्रह्मादेवी एकल महिला हुन् । उनले करिब पाँच वर्षअघि श्रीमान् गुमाएकी थिइन् । श्रीमान् पनि भैंसी पालनमै थिए । यसैबाट घर खर्च राम्रैसँग चलेको थियो । श्रीमान्को मृत्युपछि नाबालक अवस्थामा जेठो छोरा कृष्ण यादवले भैंसी पालनको काम सम्हाले ।
‘घरको जिम्मेवारी काँधमा आएपछि पढाइ छाडेर बुबाले गर्दै आएको भैंसीपालनलाई निरन्तरता दिएँ’, १८ वर्षीय कृष्ण भन्छन्, ‘एकाएक दुई पटक गरी भैंसी हराएपछि अहिले कामविहीन भएको छु ।’
परिवारको जिम्मा आफ्नो काँधमा रहेकाले के काम गरेर खर्च टार्ने भन्ने चिन्तामा आफू रहेको कृष्ण बताउँछन् । ‘हराएका भैंसी केही दुध दिने र केही गर्भवती रहेका थिए’, उनी भन्छन्, ‘२५ देखि ४० लिटरसम्म दैनिक दुध बिक्री गर्थ्यौं ।’ कृष्ण भैंसीको बिमा पनि नरहेको बताउँछन् ।
यादव परिवारको गोठ घर भन्दा केही किलोमिटर पर डुडुवास्थित जंगल क्षेत्रमा रहेको छ । त्यहाँ अन्यले पनि गोठ बनाएका छन् । सयौं भैसीहरू बिहान दुध दुहेपछि चर्नका लागि खजुरागौडी जंगलतर्फ पठाइने गरिन्छ । ‘दुवै पटक चर्न पठाइएका भैंसी साँझसम्म नफर्केपछि खोजी सुरु गर्यौं’, कृष्ण भन्छन्, ‘तर फेला परेनन् ।’
पीडित परिवारले भैंसी हराएको प्रहरीमा समेत उजुरी गरेको छ । ‘एकदेखि दुई लाख मूल्यका भैंसी चोरी हुँदा १५ लाख बढीको क्षति भएको छ’, किसान ब्रह्मादेवी भन्छिन्, ‘कहीँ कतै फेला परिहाल्छ कि भन्ने आशा मारेका छैनौं ।’
स्थानीयवासी एउटै परिवारको ९ वटा भैंसी हराउनुलाई आश्चर्यका रूपमा लिन्छन् । ‘सयौं भैंसी चर्न जाँदा एउटा परिवारको मात्रै भैंसी कसरी, कसले लग्यो होला, खोजीनीति भए हुन्थ्यो’, उनीहरू भन्छन् । पीडित ब्रहमादेवीले चोरी भएका भैंसी खोजी तथा दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।