
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसायीबीच छलफल सुरु भएको छ । शुक्रबार र शनिबार छुट्टाछुट्टै स्थानमा फरकफरक राजनीतिक आस्था बोकेका व्यवसायीहरूको अनौपचारिक बैठक भएका छन् ।
जेनजी आन्दोलनपछि गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ निकटको मत ल्याएको स्थितिमा परिवर्तन हुनुपर्ने भएपनि वैदेशिक रोजगार व्यवसायीभित्र शक्ति संरचना र सम्बन्ध पुरानै अवस्थामा देखिएको छ ।
हाल व्यवसायीहरू विगतमा जस्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निकटका देखाउँदै गोलबन्द हुने क्रम बढेको छ ।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशन निकट मानिने एकाथरी व्यवसायी बत्तीसपुतलीमा रहेको अनुपम फुडल्यान्डमा छलफल गरिरहेका छन् । एसोसिएसनका पूर्वअध्यक्ष विमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने, हाल रास्वपामा सक्रिय भएका संघका पूर्वमहासचिव सुजित कुमार श्रेष्ठ नियमितजसो अनुपम फुडल्यान्डमा अनौपचारिकरुपमा भेला भएर संघको आगामी नेतृत्वबारे छलफल गरेको बताइएको छ ।
नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल निकट व्यवसायीहरु पनि बत्तीसपुतलीस्थित इम्पेरियल फुडल्यान्डमा भेला भएर छलफल गरिरहेका छन् । उक्त भेलामा रघुनाथ पुरी, अध्यक्ष जनक रावल, पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमार, पूर्वमहासचिव नरेश गेलाल, पूर्वद्वितीय उपाध्यक्ष सञ्जु गुरुङ, महासचिव मिलन कट्टेल, पूर्वतृतीय उपाध्यक्ष मुक्तिनाथ अधिकारी, मदन पौडेल, हरि डॉगी, निवर्तमान कोषाध्यक्ष धनु सिंजालीलगायत मञ्चमा आबद्ध व्यवसायी छलफलमा जुटिरहेका छन् ।
मञ्चबाट खत्री र कट्टेलमध्ये एक जनालाई उम्मेदवार बनाउने चर्चा छ । महासचिवमा हरि डाँगी र सचिवमा सोम लामा उठ्ने चर्चा छ । कोषाध्यक्षमा धनु सिंजालीले अनिच्छा व्यक्त गरेपछि उपयुक्क पात्रको खोजी भइरहेको बताइएको छ । व्यवसायीहरु नरेश गेलाल, सञ्जु गुरुङ र मुक्तिनाथ अधिकारीवे कुनै पदमा नउठ्ने भनी जानकारी गराएको बताइएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीको निकट पहिचान बनाएका व्यवसायीहरु शुक्रबार नवदुर्गा पार्टी प्यालेसमा चियापान कार्यक्रमसहित भेला भएर संघको चुनावबारे छलफल गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको निकट व्यवसायीहरू पनि बत्तीसपुतली क्षेत्रमा भेला भएर छलफल गरिरहेको बताइएको छ । नेपाली कांग्रेस निकट एसोसिएसन भने भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमितिले बाँकी कार्यकाल काम गर्न पाउनुपर्छ भन्ने अडानमा छ ।
अन्यत्रका व्यवसायी राजनीतिक दल निकटताको आधारमा गोलबन्द भएको भएपनि सामाखुसी क्षेत्रका व्यवसायी नेपाली वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीको नाममा गोलबन्द भइरहेको व्यवसायीहरू बताउँछन् । समितिका व्यवसायीले प्रतिकूल अवस्थामा पनि नेतृत्व दिनसक्ने भन्दै अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई अगाडि बढाउने बताएका छन् ।
उता जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो पत्रलाई आ–आफ्नो उद्देश्यअनुसारको व्याख्या भइरहेका बेला बृहत् व्यवसायी एकताका लागि पूर्वअध्यक्षहरूको पहलमा शनिबार बस्ने भनिएको बैठक भने बस्न सकेन ।
नयाँ चुनाव गराउने र पुरानो कार्यसमितिलाई यथावत् राख्ने अडानमा रहेका पक्षहरू आफ्नो अडानमा लचक नभएकाले समयको बर्बादी मात्रै हुने ठानेर शनिबार पूर्वअध्यक्षहरूको बैठक बस्न नसकेको बताइएको छ ।
संघमा देखिएको यो विबाद समाधानका लागि जिल्ला प्रशासन कार्सालयको प्रतिनिधि नै संघ कार्यालयमा आउनु पर्ने या अदालती प्रक्रियाबाट टुंगो लाग्नुपर्ने देखिएको छ ।