
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार हरिबहादुर पाण्डे क्षेत्रीले प्रबन्ध समिति गठन गरिएको घटनामा असहमति जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएको पत्रमा सल्लाहकार पाण्डेले संघको पछिल्लो घटनाक्रमअनुसार वैशाख २७ गतेको कार्यसमिति बैठकबाट निलम्बित महासचिव महेशकुमार बस्नेतसहित पाँच जना पदाधिकारीले दिएको सामूहिक राजीनामाका विषयमा वैशाख २८ गते आफू संघको बहालवाला सल्लाहकारलाई कुनै जानकारी नदिई बाहिर बाहिरै संघको विधानको २६ (४) (ख) अनुसार प्रबन्ध समिति गठन गरिएकोप्रति गम्भीर ध्यानाकर्षणसहित असहमति रहेको बताएका छन् ।
संघको सल्लाहकारहरूसँग कुनै जानकारी तथा छलफलबिना नै आफूखुसी समिति गठन गर्दै निर्वाचन समितिसमेत गठन गरिएको भन्ने विभिन्न सामाजिक सञ्जालमार्फत सुन्नमा आएको भन्दै पाण्डेले संघमा दर्ता नभएका पत्रहरूका सम्बन्धमा समिति गठन गर्नु विधि र विधानभन्दा बाहिर रहने भएकाले उक्त कार्य रोकिनुपर्ने बताएका छन् ।
पाण्डेले वैशाख ३१ गते उक्त पत्र दर्ता गराएका थिए । त्यसको १२ दिनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघलाई पत्र पठाएको थियो । सल्लाहकार पाण्डेले आफ्नो असन्तुष्टिसहितको पत्रप्रति प्रशासनले पूर्वाग्रही दृष्टिकोण राखेको भन्दै असन्तुष्टि जनाएका छन् ।